काभ्रेपलान्चोक – नेकपा एमालेको महाधिवेशनका लागि काभ्रेपलाञ्चोक जिल्लामा भोलि मङ्गलवारबाट प्रतिनिधि बन्न योग्य र इच्छुक सङ्गठित सदस्यहरूले उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । सर्वसम्मत चयन गर्ने गरी एमाले काभ्रेले मापदण्ड तोकेको छ ।

कार्तिक २७ गते देशभर एकै दिन एमालेले महाधिवेशन प्रतिनिधि छनौट गर्दैछ । नेकपा माओवादी, राप्रपा र अन्य पार्टीबाट समेत एमालेमा नेता तथा कार्यकर्ताहरू प्रवेश गरेकाले सबैलाई समेटेर सर्वसम्मत प्रतिनिधि छनौट गर्ने एमाले जिल्ला कमिटीको प्रयास भने चुनौती पूर्ण छ ।

नेकपा एमालेको विधानमा उल्लेख भएअनुसार विधानको धारा ६३ अनुसार योग्यता पुगेका सङ्गठित सदस्यहरूले प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गर्न पाउनेछन् । पार्टी सदस्यता भएको १० वर्ष पुगेको, महिला, जनजाति, दलित सदस्यको हकमा ७ वर्ष पुगेका व्यक्ति महाधिवेशन प्रतिनिधि हुन पाउनेछन् ।

 

एमाले काभ्रेमा २२ हजार सङ्गठित सदस्य छन् । मापदण्ड अनुसार झन्डै ३२ जना प्रतिनिधिले महाधिवेशनमा भाग लिन पाउनेछन् । एमाले काभ्रेले प्रत्येक पालिकाबाट अनिवार्य एक जना रहने गरी मापदण्ड बनाएको छ । एमाले अध्यक्ष अशोक ब्याञ्जुले महाधिवेशनका लागि सर्वसम्मत विधिबाट प्रतिनिधि छनौटको प्रयास गर्ने नभए लोकतान्त्रिक विधिबाट महिला, दलित, जनजाति र अन्य समुदायको प्रतिनिधित्व हुने गरी प्रतिनिधि छनौट गर्ने बताउनु भयो ।

निर्वाचन कमिटीले महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरी काम शुरु गरेको पूर्णचन्द्र सिग्देलले जानकारी दिनुभयो । काभ्रेबाट प्रतिनिधित्व गर्ने जिल्ला इन्चार्ज एवं पूर्व मन्त्री केन्द्रीय सदस्य गोकुल बास्कोटाले प्रतिनिधिका लागि प्रतिस्पर्धा गर्नु पर्ने छैन ।

केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि रहने व्यवस्था भएकाले बास्कोटाले प्रतिस्पर्धा गर्नु नपर्ने भएको हो । महाधिवेशन प्रतिनिधिका लागि बागमती प्रदेश सदस्यहरू, जिल्ला पदाधिकारी तथा सदस्यहरू, जनवर्गिय सङ्गठनका प्रतिनिधिहरू, जनप्रतिनिधिहरूले आकाङ्क्षा देखाएका छन् ।

यो पटक एमालेको महाधिवेशनमा विधान र विचारको बहस नभई नेतृत्वको मात्रै हुने भएकाले नेतृत्वमा कसलाई ल्याउने बहस शुरु गरी प्रतिनिधिहरू छनौट गर्ने क्रम शुरु भएको छ । एमाले फुटको असरसँगै एकताको महाधिवेशन भएको सन्देश दिन प्रतिनिधिहरु सर्वसम्मत छनौटको प्रयास गरिएको एमालेले बताएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..