काभ्रेपलान्चोक – पछिल्लो समय ट्राफिक नियम पालना र सचेतना अभियानमा अब्बल स्थापित जिल्ला ट्राफिक प्रहरी काभ्रे सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय बनेको छ ।
विभिन्न समयमा हरेक खाले सामाजिक गतिबिधि गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले शनिबार सुरक्षित यात्रा नै, सुरक्षित जीवन हो भन्ने नाराका साथ सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक प्रमिला श्रेष्ठले बनेपा चारदोबाटमा आयोजित निशुल्क स्वास्थ्य परिक्षणमा करिव दुई सयले सेवा लिएको बताउनु भयो । उहाँका अनुसार शिविरमा निशुल्क सुगर जाँच, ब्लड पे्रसर जाँच, माक्स बितरण, जनचेतना मुलक पर्चा वितरणलगाएत स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो ।
सडकमा कुदीरहनु पर्दा सामान्य स्वास्थ्य परिक्षण समेत गर्न नभ्याएको बेला ट्राफिक प्रहरीले निशुल्क स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाएकोमा अत्यन्त खुशी लागेको भन्दै स्वास्थ्य परिक्षणमा सहभागीहरुले ट्राफिक कार्यको प्रशंसा गरेका थिए ।
हेर्नुस स्वास्थ्य परिक्षणका तस्बिरहरु