विपद्का बेला नेपाललाई सहयोग गर्न अमेरिका तत्पर : कार्यवाहक राजदूत बोल्डिन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि आभार व्यक्त गर्नुभयो। उहाँले पछिल्लो विपद्का कारण नेपाली नागरिकसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताउँदै जलवायु परिवर्तनका कारण यस्ता विपद्को जोखिम बढिरहेको उल्लेख गर्नुभयो।

बिज्ञापन

प्रधानमन्त्री शाहले जलवायुजन्य विपद् जोखिम न्यूनीकरण तथा त्यसबाट हुने क्षति सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो।

भेटमा नेपालको पर्यटन क्षेत्रको सम्भावना तथा पर्यटन विकासमार्फत नेपाल र अमेरिकाबीच पारस्परिक लाभ हासिल गर्न सकिने अवसरबारे समेत छलफल भएको थियो। प्रधानमन्त्री शाहले नेपालमा अमेरिकी लगानीलाई सधैँ स्वागत गरिने बताउनुभयो।

त्यस अवसरमा कार्यवाहक अमेरिकी राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गर्नुभयो।