


काभ्रे । नर्सिङ सेवाको मर्यादा, सम्मान र स्वास्थ्य प्रवर्द्धनका क्षेत्रमा निरन्तर सहयोग पुर्याउँदै आएकी सामाजिक अभियान्ता तथा समाजसेवी अनिला कायस्थ अन्तर्राष्ट्रिय नर्सिङ दिवस–२०२६ को अवसरमा सम्मानित भएकी छन् ।


जिल्लाको बनेपास्थित शिर मेमोरियल हस्पिटल ले विशेष कार्यक्रम आयोजना गरी बनेपा नगरपालिका–७ निवासी कायस्थलाई सम्मान गरेको हो । कार्यक्रममा अस्पताल प्रशासनले स्वास्थ्य क्षेत्रमा नर्सहरूले पुर्याइरहेको योगदानलाई समाजमा थप सम्मानित बनाउन कायस्थले खेलेको भूमिकाको प्रशंसा गरेको थियो ।


सम्मान ग्रहणपछि बोल्दै कायस्थले नर्सहरू स्वास्थ्य सेवाको मेरुदण्ड भएको बताइन् । उनले बिरामीको सेवा, हेरचाह र उपचार प्रक्रियामा नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै भनिन्,“नर्सहरू स्वास्थ्य सेवाका पर्दा पछाडिका हिरो हुन् । बिरामीलाई उनीहरूले दिने माया, करुणा र हेरचाहको स्थान कसैले लिन सक्दैन । एआइले पनि नर्सहरूको मानवीय संवेदना र सेवा भावलाई प्रतिस्थापन गर्न सक्दैन ।”
उनले बिरामीले चिकित्सकलाई धन्यवाद दिएजस्तै नर्सहरूलाई पनि सम्मान र कृतज्ञता व्यक्त गर्नुपर्ने धारणा राखिन् । नर्सहरूले स्वास्थ्य प्रवर्द्धन र बिरामी सेवामा निरन्तर उल्लेखनीय काम गर्दै आएको भन्दै त्यस अभियानमा आफूले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।
कार्यक्रममा अस्पतालमा कार्यरत विभिन्न विधाका नर्सहरूलाई पनि सम्मान गरिएको थियो । साथै अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा नर्सहरूले सांस्कृतिक प्रस्तुति तथा आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

