
चेतना नेपालको ९औँ साधारण सभा सम्पन्न

काभ्रेपलाञ्चोकको बनेपा–७ मा रहेको चेतना नेपालको ९औँ साधारण सभा शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रमेशप्रसाद न्यौपानेको सभापतित्व तथा रेडियो एबिसी ८९.८ मेगाहर्जका सञ्चालक मधु आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो।

सभामा महासचिव हरिनाथ न्यौपानेले प्रगति प्रतिवेदनसहित आगामी कार्ययोजना प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष रमिता मानन्धरले आर्थिक वर्ष ०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन पेश गर्नुभयो। कार्यक्रममा कुल ८ लाख १६ हजार ४ रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गरिएको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले सामुदायिक रेडियोले समाज रूपान्तरण, बेथिति र विसङ्गतिविरुद्ध आवाज उठाउँदै महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले बदलिँदो समयसँगै नयाँ प्रविधिको प्रयोग गर्दै सूचना पहुँचलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, रेडियो एबिसीका सञ्चालक भोला थापाले आधुनिक प्रविधिलाई आत्मसात गर्दै सञ्चार माध्यमलाई थप सशक्त र प्रभावकारी बनाउन सबैले चुनौती सामना गर्ने क्षमता विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमले संस्थाको गतिविधि समीक्षा गर्दै आगामी दिनमा अझ सक्रिय र प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।


