
काठमाडौ । बागमती प्रदेश सरकारले शनिबारबाट सार्वजनिक सवारीसाधनको नयाँ भाडादर लागू गरेको छ । प्रदेश सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भएको परिवर्तनलाई आधार मानेर सार्वजनिक सवारीको भाडादर वृद्धि गरिएको जनाएको छ । भाडा निर्धारण तथा समायोजन समितिको सिफारिसअनुसार प्रदेश सरकारले नयाँ भाडादर प्रदेश राजपत्रमा प्रकाशित गरेसँगै शनिबारदेखि नै लागू भएको छ ।
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयमातहतको भाडा निर्धारण तथा समायोजन समितिको शुक्रबार बसेको बैठकले काठमाडौं उपत्यकासहित प्रदेशभर सञ्चालन हुने सवारीसाधनको भाडा वृद्धि गर्न सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार बागमती प्रदेश सरकारले सर्वाजनिक भाडादर वृद्धि गरेको हो ।

नयाँ व्यवस्थाअनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीको न्यूनतम भाडा २४ रुपैयाँ कायम गरिएको छ । जुन भाडा साबिकको दरभन्दा २५.९६ प्रतिशतले बढी हो ।

यसअघि पाँच किलोमिटरसम्मको भाडा १९ रुपैयाँ रहेकोमा बढाएर २४ रुपैयाँ बनाइएको हो । यस्तै, १० किलोमिटरसम्म ३३ रुपैयाँ, १५ किलोमिटरसम्म ३९ रुपैयाँ, २० किलोमिटरसम्म ४४ रुपैयाँ तथा २० किलोमिटरभन्दा माथि ५० रुपैयाँ भाडादर कायम गरिएको छ । ट्याक्सी सेवामा पनि भाडा वृद्धि गरिएको छ ।


नयाँ व्यवस्थाअनुसार ट्याक्सीको फ्ल्यागडाउन ५८ रुपैयाँ कायम गरिएको छ भने प्रत्येक दुई सय मिटरका लागि १२ रुपैयाँ भाडा लाग्नेछ । यसैगरी, उपत्यकाबाहिर सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीको हकमा भने साबिक भाडादरमा १७.३५ प्रतिशत वृद्धि गरिएको छ । यस्तै, मालवाहक सवारीसाधनको भाडा प्रतिटन प्रतिकिलोमिटर १४.८० रुपैयाँबाट बढाएर १८.७६ रुपैयाँ कायम गरिएको छ । मालवाहक सवारीसाधनको भाडा २६.७९ प्रतिशतले वृद्धि गरिएको हो । विद्युतीय सवारीसाधनको भाडादर भने यथावत् राखिएको छ ।


