विनायक बाल स्कुलको २७ औं वार्षिकोत्सव सम्पन्न

धुलिखेल – शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन अग्रसर रहेको धुलिखेल–८ बडालगाउँको विनायक बाल आधारभूत विद्यालयको २७ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएको छ ।

विद्यालयको अध्यक्ष चोलाबहादुर गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष विनोद गौतम हुनुहुन्थ्यो । वडा अध्यक्ष गौतमले शैक्षिक गुणस्तर विकासमा आवश्यक पर्ने सहयोग वडाले उपलब्ध गराउने बताउनुभयो ।

बिज्ञापन

विद्यालयको प्रधानाध्यापक नवराज तिमल्सिनाले शैक्षिक प्रगति र भावी कार्ययोजना प्रस्तुत गर्नुभयो । शिक्षक दामोदर बडालले १२ लाख ६९ हजार ६३ को आय व्यय विवरण प्रस्तुत गर्नुभयो । कार्यक्रममा रेडियो एबिसीका अध्यक्ष एवं काभ्रे टाइम्सका कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपानेले विद्यालयले शैक्षिक जनशक्ति बिकासमा व्यवहारीक शिक्षा प्रदान गर्नु अपरिहार्य भएको त्यसमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

रेडियो एविसीका अध्यक्ष न्यौपानेले सरकारी सेवा सुविधा उपयोग गर्ने शिक्षक, कर्मचारी तथा जन प्रतिनिधिका छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने तर्क गर्नुभयो । कार्यक्रममा व्यक्तिगतरुपमा निरन्तर रुपमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई दिदैं आएको नगद पुरस्कार रेडियोका अध्यक्ष न्यौपानेले कक्षा २ का छात्र प्रयास थारु र कक्षा ३ का सञ्जु ढलकोटीलाई विद्यालयमा अध्ययनरत छात्रछात्रा मध्ये नै उत्कृष्ट अंक ल्याएकोमा पुरस्कृत गर्नुभयो ।

त्यसैगरी सोही छात्र छात्रालाई शिक्षक अभिभावक संघका अध्यक्ष सन्तोष गौतमले पनि ५÷५ सय नगदबाट पुरस्कृत गर्नुभयो । कार्यक्रममा धुलिखेल नगरपालिका शिक्षा शाखा प्रमुख डिकबहादुर राई ,स्थानीय समाजसेवी विष्णुबहादुर मिजार, सरस्वती माविका प्रधानाध्यापक रमेशप्रसाद बडाल, अभिभावक वर्ग, बुद्धिजीवीहरुको सहभागीता रहेको थियो ।

यस वर्षको उत्कृष्ट शिक्षकमा विद्यालयले यमुना पोखरेललाई सम्मान गरेको छ । विद्यार्थीहरुले आप्mनो प्रतिभा सहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक नानीराम धितालले गर्नुभएको थियो ।