
काठमाडौं । शिक्षा क्षेत्रमा नयाँ सोच र आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको कश्यप एकेडेमीले आफ्नो दोस्रो वार्षिकोत्सव समारोहलाई अनौठो र स्मरणीय शैलीमा सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन रोबटले कैँची समातेर रिबन काट्दै र मेसिनबाट पानसमा बत्ती बालेर गरिएको दृश्यले उपस्थित सबैलाई रोमाञ्चित बनायो। विद्यालय परिसरमा देखिएको यो प्रविधिमैत्री दृश्यले उपस्थित अभिभावक, विद्यार्थी र अतिथिहरूलाई आश्चर्यचकित मात्र बनाएन, शिक्षा क्षेत्रमा नयाँ सम्भावनाको संकेत पनि दियो।

मैत्रीनगर, कलंकीस्थित विद्यालय परिसरमा आयोजित समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम कम्पनी अध्यक्ष कमला खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष महाश्रम शर्मा उपस्थित थिए।

समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिकेश तिवारी, जेष्ठ नागरिक नन्द प्रसाद सिलवाल, राष्ट्रिय योग प्रशिक्षक कञ्चन घिमिरे, विद्यालयका प्रिन्सिपल आर.बी. अधिकारी, सहायक प्रिन्सिपल नारायण पन्त, भाषा समन्वयक तथा ईसीए इन्चार्ज रबिन्सन बस्नेत, प्राथमिक तह इन्चार्ज एलिशा आचार्य लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। अभिभावक प्रतिनिधिका रूपमा ध्रुव रेग्मी र यादव सेडाईंलाई पनि विशेष आतिथ्यता प्रदान गरिएको थियो।


कार्यक्रमका प्रमुख झलक
▪ रोबटबाट रिबन काटेर तथा स्वचालित मेसिनबाट पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन
▪ विद्यार्थीहरूले सञ्चालन गरेको कार्यक्रमले देखायो नेतृत्व क्षमता
▪ संगीतकार आनन्द राईको संयोजनमा विद्यार्थीहरूको सांगीतिक प्रस्तुति
▪ जेष्ठ नागरिक नन्द प्रसाद सिलवाललाई सम्मान
▪ उत्कृष्ट शिक्षक, कर्मचारी र इन्चार्जलाई पुरस्कार
कार्यक्रममा स्वागत मन्तव्य राख्दै सहायक प्रिन्सिपल नारायण पन्तले विद्यालयले वर्तमान समयको आवश्यकता र अभिभावकको अपेक्षालाई ध्यानमा राख्दै रणनीतिक योजनासहित अघि बढिरहेको बताए। उनले विद्यार्थीको पहिलो पाठशाला घर नै भएको उल्लेख गर्दै अभिभावकलाई आफ्ना नानीबाबुको शिक्षा र संस्कारप्रति सजग रहन आग्रह गरे।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक प्रधानाध्यापक आर.बी. अधिकारीले कश्यप एकेडेमीको मुख्य लक्ष्य संस्कार, विज्ञान–प्रविधि र उद्यमशीलतालाई एकैसाथ जोडेर समाजलाई आवश्यक पर्ने जनशक्ति तयार पार्नु रहेको बताए।
“हामी केवल पाठ्यपुस्तक पढाउने विद्यालय होइनौं,” उनले भने, “हामी भविष्यका सिर्जनशील, जिम्मेवार र सक्षम नागरिक तयार पार्ने शैक्षिक केन्द्र बन्न चाहन्छौं।” उनले छोटो समयमै अभिभावकले देखाएको विश्वासले विद्यालय परिवारलाई अझ ऊर्जा दिएको पनि बताए।
प्रमुख अतिथि महाश्रम शर्माले विद्यालयले अपनाएको समग्र शिक्षा पद्धतिले भविष्यका सक्षम नागरिक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले आधुनिक प्रविधि र संस्कारयुक्त शिक्षाको संयोजन आजको शिक्षाको आवश्यकता भएको बताए।
कार्यक्रमको औपचारिक सञ्चालन अनिल खड्का र दिया ठाकुरीले गरेका थिए भने सहभागिहरूको दर्ता आश्मा कार्की र कृतन नगरकोटीले गरेका थिए। कार्यक्रमका बीच–बीचमा विभिन्न तहका विद्यार्थीहरूलाई समेत सञ्चालनको अवसर दिइएको थियो, जसले विद्यालयले नेतृत्व विकासलाई दिएको महत्वलाई झल्काएको थियो।
प्रतिभाको चम्किलो प्रस्तुति
समारोहको अर्को आकर्षण भनेको विद्यार्थीहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति थियो। विद्यालयका संगीत प्रशिक्षक तथा संगीतकार आनन्द राईको संयोजनमा विद्यार्थीहरूले विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए। आफ्ना नानीबाबुको प्रतिभा देखेर अभिभावकहरू निकै उत्साहित र गर्वित देखिन्थे।
उत्कृष्टता सम्मान
समारोहमा विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने शिक्षक, कर्मचारी र विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो।
सम्मानित व्यक्तित्वहरू
सालिना पाण्डे — उत्कृष्ट शिक्षक
एलिशा आचार्य — उत्कृष्ट इन्चार्ज
इन्दिरा पौडेल — उत्कृष्ट कर्मचारी
त्यसैगरी समाजमा अग्रजप्रतिको सम्मान संस्कारलाई कायम राख्दै नन्द प्रसाद सिलवाललाई दोसल्ला ओढाएर सम्मानपत्रसहित अभिनन्दन गरिएको थियो।
शिक्षा क्षेत्रमा नयाँ पहिचान
मैत्रीनगर, कलंकीस्थित कश्यप एकेडेमीले छोटो समयमै गुणस्तरीय शिक्षा, आधुनिक प्रविधि र विद्यार्थी–केन्द्रित शिक्षण पद्धतिका कारण अभिभावक र विद्यार्थीहरूको मन जित्न सफल भएको छ। विद्यालयले संस्कार, विज्ञान र उद्यमशीलताको समन्वय गर्दै भविष्यका सिर्जनशील तथा अनुशासित नागरिक तयार पार्ने लक्ष्यलाई अघि बढाइरहेको छ।


