
श्रीखण्डपुरस्थित सेन्टलम एल्वम एकेडेमीले आफ्नो २०औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा एसईई र कक्षा १२ उत्तीर्ण विद्यार्थी सम्मान एवं विदाई कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रम एन प्याब्सन का केन्द्रीय महासचिव प्रकाशचन्द्र खड्का को प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमन पोटे को अध्यक्षतामा सम्पन्न भएको हो।

समारोहमा एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो। साथै कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई विदाई गर्दै विशेष सम्मान गरिएको विद्यालयले जनाएको छ। उत्कृष्ट प्रदर्शन गरेका दुई–दुई जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो।


विद्यालयले एउटै परिवारका तीन जना सन्तान अध्ययन गराइरहेका अभिभावकहरूलाई विशेष सम्मान गरेको थियो भने विद्यालयको शैक्षिक तथा संस्थागत विकासमा योगदान पुर्याउने व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो। दीर्घ सेवा गर्ने दुई जना शिक्षक सम्मानित भएका थिए भने साना विद्यार्थीहरूलाई विभिन्न उपाधि प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति मार्फत आफ्नो प्रतिभा देखाएका थिए।
विद्यालयका प्रिन्सिपल अग्नी ज्ञवाली ले विद्यालयले विद्यार्थीलाई संस्कार, संस्कृति र परम्परासँग जोड्दै आधुनिक प्रविधिमैत्री गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए। उनले अध्ययनसँगै व्यवहारिक ज्ञानलाई प्राथमिकता दिइएको उल्लेख गर्दै अभिभावकहरूबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमन पोटेले बदलिँदो समयअनुसार विद्यार्थीलाई सिक्ने, बिक्ने र टिक्ने शिक्षा आवश्यक रहेको उल्लेख गर्दै भौतिक पूर्वाधार, अतिरिक्त शैक्षिक सामग्री र व्यवहारिक सिकाइमा विद्यालयले विशेष ध्यान दिएको बताए।
प्रमुख अतिथि प्रकाशचन्द्र खड्काले निजी विद्यालयहरूले राष्ट्रको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै सरकारले निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए। निजी क्षेत्रलाई माया, सम्मान, संरक्षण र उत्प्रेरणा आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा पनौती नगरपालिका वडा नं. ५ को जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रिन्सिपल, अभिभावक, शिक्षक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
उपस्थित वक्ताहरूले विद्यालयले प्रदान गरिरहेको शिक्षा सन्तोषजनक रहेको उल्लेख गर्दै बालबालिकाको सिकाइ गुणस्तर अझ मजबुत बनाउन सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिएका थिए।


