भाग्यमानी बन्यो कोशीपारी : एउटै क्षेत्रबाट दुई सांसद निर्वाचित

 

काभ्रे — कोशीपारी क्षेत्र यसपटक राजनीतिक रूपमा भाग्यमानी बनेको छ। कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिकाका बदनकुमार भण्डारी र चौरीदेउराली गाउँपालिकाका मधुकुमार चौलगाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै यस क्षेत्रले एकैपटक दुई सांसद पाएको हो।

बिज्ञापन

उहाँहरूको विजयसँगै कोशीपारी क्षेत्रका नागरिकहरूमा विकास र समृद्धिको नयाँ आशा जागेको छ। लामो समयदेखि विभिन्न समस्यासँग जुधिरहेको यस क्षेत्रले अब आफ्नो आवाज सशक्त रूपमा संसदमा उठ्ने अपेक्षा गरेको छ।

कोशीपारी क्षेत्रमा पछिल्लो समय तीव्र बसाइँसराइ, बादर आतंकका कारण कृषिमा भएको क्षति, कृषि उपजको उचित बजारीकरणको अभाव, मध्यपहाडी राजमार्ग निर्माण कार्यको ढिलाइ तथा त्यसले स्थानीय जीवनमा पारेको असरजस्ता समस्या विद्यमान छन्। स्थानीयवासीले यी समस्याको दीर्घकालीन समाधानका लागि नयाँ निर्वाचित सांसदहरूले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

एकै क्षेत्रमा दुई सांसद निर्वाचित हुनु कोशीपारीका लागि अवसरको रूपमा हेरिएको छ। स्थानीयहरूका अनुसार यसले क्षेत्रको विकासमा नयाँ गति ल्याउने, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकता दिने तथा सहरतर्फ पलायन भएका नागरिकलाई पुनः गाउँमै फर्केर काम गर्ने वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।
कोशीपारीका बासिन्दा अहिले उत्साहित छन्—उनीहरूलाई विश्वास छ, दुई सांसदको उपस्थितिले अब यस क्षेत्रको “भाग्य” साँच्चै बदलिनेछ।