
सूर्यविनायक नगरपालिका–५, सृजनानगरस्थित पाथीभरा एकेडेमी विद्यालयले आफ्नो १४औँ विद्यालय वार्षिकोत्सव तथा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत नानिबाबुहरूको अभिभावक दिवस भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त सिटौलाकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय सञ्चालक समिति सदस्यहरू बुद्धि बहादुर थापा, रामचन्द्र थापा मगर, सुवासनाथ गोङल तथा पी.टी.ए. अध्यक्ष रामबिक्रम सम्बाहाम्फेको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवातमा विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद सिटौलाले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्ण अभिभावक, अतिथि तथा शुभेच्छुकहरूप्रति हार्दिक स्वागत तथा आभार व्यक्त गर्नुभयो
। प्रधानाध्यापक सिटौलाले भन्नुभयो
“१४ वर्षको विद्यालय स्थापना दिवस तथा अभिभावक दिवस मनाइरहँदा यो केवल वर्षको संख्या गणना मात्र होइन, यो अभिभावक र विद्यालयबीचको गहिरो सम्बन्धको प्रतीक हो । यो वर्षौँको मिहिनेतको कथा हो र साना नानिबाबुहरूको सुनौलो भविष्य निर्माणमा निरन्तर समर्पित भएर लागेको समयको उत्सव हो ।”


कार्यक्रममा विद्यालय सञ्चालक समिति सदस्य बुद्धि बहादुर थापाले मन्तव्य राख्दै विद्यालय स्थापनाकालदेखिको संघर्षपूर्ण यात्रा, भूकम्पले दिएको पीडा तथा कोभिड–१९ महामारीले सिर्जना गरेका चुनौतीहरू स्मरण गर्नुभयो। ती कठिन अवस्थाहरू पार गर्दै आज १४औँ वार्षिकोत्सव मनाउन पाउनु अत्यन्तै खुसीको विषय भएको बताउँदै विद्यालय यहाँसम्म आइपुग्नु सबैको सामूहिक प्रयास, अभिभावकको विश्वास र शिक्षकहरूको समर्पणको परिणाम भएको उल्लेख गर्नुभयो ।
कार्यक्रमकै अवसरमा विद्यालयको आधिकारिक गीत विमोचन सभाध्यक्ष हेमन्त सिटौलाबाट सम्पन्न गरिएको थियो । उक्त गीतका गीतकार मधुस नेउपाने, संगीतकार केशब बादी तथा रचनाकार कृष्ण पराजुलीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूको अतिरिक्त क्रियाकलाप अन्तर्गत गायन, नृत्य, कराते तथा परिस्थितिजन्य नाटक प्रस्तुत गरिएको थियो । यस्ता क्रियाकलापले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि, नेतृत्व क्षमता विकास, सृजनशील सोच, अनुशासन, सहकार्य भावना तथा प्रस्तुति कौशलमा महत्वपूर्ण योगदान पुर्याउने विद्यालयको धारणा रहेको जानकारी विद्यालय शैक्षिक संयोजक शर्मिला प्रधानाङले दिनुयो ।
यसै अवसरमा “पाथीभरा एकेडेमी सिजन–वान सिङ्गिङ आइडल” प्रतियोगिता सम्पन्न भएको थियो। प्रतियोगितामा
कक्षा ३ की छात्रा दिपसना कार्की विजेता,
कक्षा ३ की छात्रा स्नेहा के.सी. प्रथम उपविजेता
र कक्षा ३ की छात्रा एभलिन थापा द्वितीय उपविजेता घोषित भए ।
त्यसैगरी कक्षा ७ का कृष्टभ थापा मगरलाई सम्भावित सिङ्गर तथा कक्षा ६ की आर्शिया भुजुलाई “मेलोडी भ्वाइस सिङ्गर” घोषणा गरिएको जानकारी मन्टेसरी संयोजक तथा पाथीभरा आइडल सिजन–वानकी कार्यक्रम सञ्चालिका लक्ष्मी प्रधानाङले दिनुभयो ।
सिङ्गिङ आइडल प्रतियोगितामा जजहरू नवराज सापकोटा, आयुष गोपाली र केशब बादी रहनुभएको थियो । कार्यक्रमलाई थप रमाइलो र सहभागितामूलक बनाउने उद्देश्यले स्काउट शिक्षकले पापड छिटो खाने प्रतियोगिता अभिभावकहरुको लागि आयोजना गरिएकाे थियो ।
प्रतियोगितामा कक्षा ४ मा अध्ययनरत छात्र प्रसुन दाहालका अभिभावक दुर्गा प्रसाद दाहाल प्रथम, कक्षा ३ मा अध्ययनरत डेन्जल तामाङकी अभिभावक पूर्णिमा तामाङ दोस्रो
र कक्षा २ मा अध्ययनरत इसान बिष्टको अभिभावक साबित्रा कार्की बिष्ट तृतीय हुनुभएको विद्यालयले जनाएको छ । विजेताहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यालयलाई प्रत्यक्ष सहयोग पुर्याउने अभिभावकहरू
कक्षा ६ मा अध्ययनरत प्रत्युसा श्रेष्ठका अभिभावक पारस श्रेष्ठ तथा
कक्षा ७ मा अध्ययनरत आर्या प्रधानकी अभिभावक निशा प्रधानलाई सम्मान गरिएको थियो । त्यसैगरी, मिहिनेती, लगनशील र समर्पित शिक्षक–शिक्षिकाहरूलाई विशेष सम्मान गरिएको थियो ।
१० वर्षदेखि निरन्तर शिक्षण पेशामा समर्पित शिक्षिका शृशा कवालाई दीर्घ सेवा सम्मान प्रदान गरिएको कार्यक्रममा
शैक्षिक सत्र २०८१ मा नियमित विद्यालय उपस्थित रहने तथा न्यून गयल दर कायम गर्ने शिक्षिकाहरू
कमला लिम्बू, भावना बुढाथोकी, सम्झना बानिया, अञ्जु तिम्सिना, यसोदा उप्रेती र शुशिला सुवाल सम्मानित हुनुभएको थियो ।
कार्यक्रमको समापन मन्तव्यमा सभाध्यक्ष सिटौलाले कार्यक्रम सुरुदेखि अन्त्यसम्म बसेर सहभागिता जनाइदिनु भएका सम्पूर्ण अभिभावक, अतिथि, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले विद्यालयको भावी योजना प्रस्तुत गर्दै विद्यार्थीहरूको चौतर्फी विकास हुने गतिविधिहरूलाई थप प्रभावकारी बनाइने र गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकतामा राखेर विद्यालय अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमसम्बन्धी जानकारी विद्यालय इन्चार्ज कल्पना ओलीले जानकारी दिनुभयो।


