
बनेपा । नेपाल बनेपा बहुप्रविधिक शिक्षालयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गतको सीप परीक्षण (Skill Test) कार्यक्रम माघ २३ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन भइरहेको छ।

तालिम प्राप्त विद्यार्थीहरूको व्यावहारिक सीप, दक्षता तथा व्यावसायिक क्षमता मूल्याङ्कन गर्ने उद्देश्यले सीप परीक्षण कार्यक्रम सञ्चालन गरिएको शिक्षालयले जनाएको छ। सीप परीक्षणमा सहभागी भई सफल हुने प्रशिक्षार्थीहरूलाई CTEVT बाट प्रमाणपत्र प्रदान गरिनेछ। जसले उनीहरूलाई रोजगारी तथा स्वरोजगारका अवसरमा सहजता ल्याउने विश्वास लिइएको छ।

कार्यक्रम अन्तर्गत बारिस्टा लेभल–१, कुक लेभल–२, कम्प्युटर अपरेटर लेभल–२, कम्प्युटर हार्डवेयर तथा नेटवर्क टेक्निसियन लेभल–२, बिल्डिङ इलेक्ट्रिसियन लेभल–१ र २ तथा बेकरी लेभल–१ विषयहरूमा सीप परीक्षण भइरहेको छ।


शिक्षालय प्रमुख रोहित दाहालले CTEVT अन्तर्गत सञ्चालन हुने यस्ता सीप परीक्षण कार्यक्रमले विद्यार्थीलाई रोजगारीमुखी र आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले भन्नुभयो,
“सीप परीक्षणले विद्यार्थीले सिकेको ज्ञान कत्तिको व्यवहारिक छ भन्ने मापन गर्छ। प्राविधिक शिक्षालाई समयसापेक्ष, गुणस्तरीय र श्रम बजारको आवश्यकताअनुकूल बनाउन शिक्षालय सधैं प्रतिबद्ध छ।”
त्यसैगरी उप-प्रमुख सरोज बनियाँले सीप परीक्षण कार्यक्रमलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गरिने जानकारी दिनुभयो।
“विद्यार्थीहरूले डर होइन, आत्मविश्वासका साथ सीप प्रस्तुत गर्नुपर्छ। यो परीक्षण उनीहरूको भविष्य निर्माणसँग जोडिएको महत्वपूर्ण अवसर हो,” उहाँले भन्नुभयो।
कार्यक्रम नेपाल बनेपा बहुप्रविधिक शिक्षालयको आयोजनामा CTEVT का मापदण्डअनुसार सञ्चालन भइरहेको र सम्पूर्ण व्यवस्थापन पक्षलाई व्यवस्थित बनाइएको साजन गुरुङले जानकारी दिनुभयो।


