
बनेपा– बनेपा नगरपालिका वडा नं. १० जनागालमा अवस्थित नाइटिङ्गेल एकेडेमीले ‘नाइटिङ्गेल फूटसल’ सञ्चालनमा ल्याएको छ।

फूटसलको आज एक विशेष समारोहका बीच औपचारिक उद्घाटन गरिएको हो। उद्घाटन नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने, पूर्वअध्यक्ष मोतिराम तिमल्सिना तथा बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र विष्टले संयुक्त रूपमा गर्नुभएको थियो।

विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा पनि सक्रिय सहभागी गराउने उद्देश्यले फूटसल स्थापना गरिएको नाइटिङ्गेल एकेडेमीका प्रबन्ध निर्देशक रत्नकुश रञ्जितकारले बताउनुभयो। उहाँका अनुसार विद्यार्थीको शारीरिक, मानसिक र अनुशासनात्मक विकासमा खेलकुदको महत्वपूर्ण भूमिका रहने विश्वासका साथ फूटसल सञ्चालनमा ल्याइएको हो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेले नाइटिङ्गेल फूटसलले स्थानीय स्तरबाट प्रतिभावान खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।


उद्घाटन समारोहमा त्यसैगरी बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र बिष्टले विद्यालयहरूले पठन–पाठनसँगै खेलकुद पूर्वाधारमा पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै नाइटिङ्गेल एकेडेमीले गरेको पहल उदाहरणीय रहेको बताउनुभयो। उहाँले यस्ता संरचनाले विद्यार्थीको प्रतिभा पहिचान र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
नाइटिङ्गेल एकेडेमीकी प्रिन्सिपल उमा बस्नेतले विद्यालयको शैक्षिक यात्रामा खेलकुदलाई अभिन्न अङ्गका रूपमा अघि बढाइएको उल्लेख गर्दै फूटसलले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र टोली भावनाको विकासमा सशक्त माध्यम बन्ने बताउनुभयो। उहाँले खेलकुदमार्फत स्वस्थ प्रतिस्पर्धा, सकारात्मक सोच र जीवन उपयोगी सीप विकासमा विद्यालय प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
फूटसल उद्घाटनको अवसरमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक र बनेपा प्याब्सनबीच मैत्रीपूर्ण फूटसल खेलसमेत आयोजना गरिएको थियो।



