लागू पदार्थ सेवन विरुद्ध ट्राफिक प्रहरीको कडाइ, तीन सवारी चालक कारबाहीमा

 

काभ्रेपलाञ्चोक । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले मंगलटार स्वास्थ्य चौकीको समन्वय तथा सहकार्यमा लागू पदार्थ सेवन (ला.प.से.) चेकजाँच अभियान सञ्चालन गरेको छ।

बिज्ञापन

रोशी गाउँपालिका–९, मंगलटारस्थित बी.पी. राजमार्ग सडक खण्डमा सञ्चालन गरिएको चेकजाँच अभियानका क्रममा सार्वजनिक तथा निजी सवारी साधनका २८ जना सवारी चालकहरूको परीक्षण गरिएको थियो।

सो क्रममा लागू पदार्थ सेवन गरेको प्रमाणित भएका ३ जना सवारी चालकलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, धुलिखेल पठाइएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ।
कारबाहीमा परेका चालकहरूमा भाडा बस चालक १ जना, निजी पिकअप चालक १ जना र भाडा सुमो चालक १ जना रहेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सुनिल धाँजुले भन्नुभयो, “लागू पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरू आफैँ मात्र होइन, यात्रु तथा सडक प्रयोगकर्ताको जीवनसमेत जोखिममा पारिरहेका हुन्छन्। त्यसैले सवारी दुर्घटना न्यूनीकरण र सडक सुरक्षालाई प्रभावकारी बनाउन यस्ता चेकजाँच अभियानलाई निरन्तरता दिइनेछ।”
उहाँले आगामी दिनमा पनि मुख्य राजमार्ग तथा भीडभाड हुने क्षेत्रमा नियमित र आकस्मिक चेकजाँचलाई अझ कडाइका साथ अघि बढाइने जानकारी दिनुभयो।