
धनगढी,
माघ ७ ।

चर्चित गायक तथा संगीतकार भीम बिसीले आफ्नो जन्मदिनको अवसरमा धनगढीस्थित मानव सेवा आश्रममा मानवीय सेवा गर्दै मनाएका छन् । जन्मदिनलाई अर्थपूर्ण बनाउन र समाजमा योगदान पुर्याउने उद्देश्यसहित उहाँ आश्रम पुग्नुभएको हो ।

काठमाडौंमा बस्दा पनि समाजसेवामार्फत जन्मदिन मनाउँदै आउनुभएका भीमले यसपटक आफ्नो जन्मभूमि धनगढीमा रहेका असहाय, बेसहारा र मानसिक रूपमा अशक्त व्यक्तिहरूसँग भेटघाट गर्दै बिहानको खाना खुवाउनुभएको थियो ।


उक्त अवसरमा उहाँले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै समाजका हरेक व्यक्तिले आफ्नो स्थानबाट सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले जन्मदिनमा मात्र नभई अन्य आवश्यक समयमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा भीमका आमा, दाजु, भाउजू, भतिजा र विवेक नागरीलगायतको उपस्थित थियो । मानव सेवा आश्रमका प्रतिनिधिहरूले भीमको यस सेवामूलक कार्यको उच्च प्रशंसा गर्दै कलाकारहरूले समाजका लागि प्रेरणाको स्रोत बन्न सक्ने बताएका थिए ।


