‘राजनीति पद होइन, जिम्मेवारी हो’ : काभ्रे–२ बाट डा. कुँवरको प्रतिनिधि सभा आकांक्षा

काभ्रे । डा. तारा बहादुर कुँवरले काभ्रे क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) को तर्फबाट प्रतिनिधि सभा सदस्य बन्ने आकांक्षा व्यक्त गर्नुभएको छ। आफू कुनै पेशागत राजनीतिज्ञ नभए पनि समाजमा देखिएका समस्या, नागरिकका पीडा र जिम्मेवारीबोधले राजनीतितर्फ डो¥याएको उहाँको भनाइ छ।
डा. कुँवरका अनुसार, समाजमा हिँड्दा, बोल्दा र सुन्दा देखिएका–भोगिएका यथार्थले उहाँलाई बारम्बार एउटै प्रश्न सोधिरहन्छ— “यदि हामी जस्ता साधारण नागरिकले जिम्मेवारी नलिए कसले लिन्छ?” यही प्रश्नको उत्तर खोज्ने क्रममा उहाँ RSP सँग जोडिन पुग्नुभएको हो।

सामाजिक जीवनबाटै जन्मिएको राजनीतिक चासो
आफू कुनै ठूलो महत्वाकांक्षा बोकेर राजनीतिमा नआएको स्पष्ट पार्दै डा. कुँवरले भन्नुभयो, “अन्याय देख्दा बोल्ने, नागरिकको पीडा महसुस गर्ने र समाजप्रति चासो राख्ने एक साधारण व्यक्ति नै मेरो परिचय हो।”

बिज्ञापन

उहाँ लामो समयदेखि स्थानीय समस्या सुन्ने, युवासँग संवाद गर्ने, सामाजिक सञ्जाल तथा युट्युबमार्फत नागरिक चेतना फैलाउने, राम्रो कामको समर्थन र गलत प्रवृत्तिको आलोचना गर्दै आउनुभएको छ। यी गतिविधि चुनावका लागि नभई स्वाभाविक नागरिक दायित्वका रूपमा गर्दै आएको उहाँको भनाइ छ।

काभ्रे क्षेत्र नं. २ मा निरन्तर संवाद र उपस्थिती
डा. कुँवरले काभ्रे क्षेत्र नं. २ मा आफूले ठूलो काम गरेको दाबी गर्न नचाहेको उल्लेख गर्नुभयो। तर, गाउँ–टोलमा पुगेर नागरिकका कुरा सुन्ने, विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा छलफल गर्ने तथा जनताले भोगिरहेको असहजता बुझ्ने प्रयास निरन्तर गर्दै आएको बताउनुभयो। उहाँका अनुसार यी गतिविधि प्रचारका लागि होइन, बुझाइ र समाधान खोज्ने प्रयासका रूपमा भएका हुन्।
किन राष्ट्रिय स्वतन्त्र पार्टी?
राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेका मूल्य र दृष्टिकोणसँग आफू व्यक्तिगत रूपमा सहमत भएको डा. कुँवरको भनाइ छ। पुरानो राजनीतिक शैलीभन्दा फरक सोच, नागरिक केन्द्रित राजनीति तथा इमानदार र उत्तरदायी नेतृत्व RSP रोज्नुको मुख्य कारण भएको उहाँले स्पष्ट पार्नुभयो। “यो पदको यात्रा होइन, मूल्यको संगत हो,” उहाँले भन्नुभयो।
दम्भविनाको उम्मेदवारी
आफूलाई अत्यन्तै योग्य भनेर प्रस्तुत गर्न नचाहे पनि सिक्न, सुन्न र जवाफदेही बन्न तयार रहेको डा. कुँवर बताउनुहुन्छ। “जनताबाट टाढा बस्ने प्रतिनिधि बन्न चाहन्नँ,” उहाँले भन्नुभयो, “अवसर मिल्यो भने संसदमा गएर ठूलो भाषणभन्दा पनि सान्दर्भिक र व्यवहारिक कुरा राख्ने प्रयास गर्नेछु।”
नागरिक र समर्थकप्रति विनम्र आग्रह
डा. कुँवरले आम नागरिक तथा पार्टी समर्थकहरूसँग विनम्र आग्रह गर्दै भन्नुभयो, “यदि संसदमा तपाईंको कुरा राख्ने सामान्य व्यक्ति चाहिन्छ, नेता होइन प्रतिनिधि चाहिन्छ, बोल्ने होइन बुझ्ने मान्छे चाहिन्छ भने म तपाईंको विश्वासको जिम्मेवारी लिन इच्छुक छु।” आफूलाई योग्य ठाने विश्वास दिनु र अयोग्य ठाने निर्णयको सम्मान गर्ने उहाँको धारणा छ।
राजनीति प्रतिष्ठा होइन, जिम्मेवारी
अन्त्यमा डा. कुँवरले राजनीति आफ्नो लागि प्रतिष्ठाको विषय नभई जिम्मेवारीको प्रश्न भएको स्पष्ट पार्नुभयो। परिवर्तनको ठेक्का लिएको दाबी नगरे पनि परिवर्तनको प्रयासमा इमानदार सहभागी हुन चाहेको बताउँदै उहाँ काभ्रे क्षेत्र नं. २ बाट RSP को तर्फबाट प्रतिनिधि सभा सदस्य बन्न इच्छुक भएको जनाउनुभएको छ।