एमाले उपाध्यक्ष पौडेल रुपन्देही–२ बाट उम्मेदवार सिफारिस, अन्य क्षेत्रमा कोको सिफारिस भए ?

लुम्बिनी । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरिएको छ । नेकपा (एमाले) को आज सम्पन्न क्षेत्रीय भेलाले उपाध्यक्ष पौडेलको एकल नाम सिफारिस गरेको हो ।

यस्तै क्षेत्र नं ३ बाट समेत उपाध्यक्ष पौडेललाई पहिलो नम्बरमा उम्मेदवारका लागि सिफारिस गरिएको पार्टीको जिल्ला सहसचिव बाबुराम पन्थीले जानकारी दिए । रुपन्देही–३ बाट एमालेले उपाध्यक्ष पौडेलसँगै प्रदेश कमिटी सदस्य सिद्धार्थनगर नगरपालिकाका पूर्वप्रमुख हरि अधिकारी, रुपन्देही क्षेत्र नं ५ बाट निर्वाचित पूर्वसांसद वासु घिमिरे, अयोध्या थारू, हितराज पन्थी, नरबहादुर घर्ती, विश्वराज बराल, राजेन्द्र पन्थी, पम्फावती खनाल, सीता काफ्ले र लक्ष्मी केसीको नाम सिफारिस गरेको पन्थीले जानकारी दिए ।

बिज्ञापन

रुपन्देही क्षेत्र नं १ क्षेत्रीय समन्वय कमिटीको बैठकबाट पार्टी केन्द्रीय कमिटी सचिव छविलाल विश्वकर्मा, दधिराम न्यौपाने र डा कृष्ण न्यौपानेको नाम सिफारिस गरिएको छ ।

यस्तै रुपन्देही क्षेत्र नं ५ बाट राष्ट्रियसभाका पूर्व सांसद खिमलाल भट्टराईको नाम एकलरुपमा सिफारिस गरिएको छ । क्षेत्र नं ४ मा भने सोमबार क्षेत्रीय कमिटीको बैठक बसेर उम्मेदवारको नाम सिफारिस गरिने पन्थीले जानकारी दिए ।