जिल्ला बचत संघ काभ्रेपलान्चोक उपाध्यक्ष पदमा दाबी–विरोध, आचारसंहिता उल्लङ्घन भएको आरोप

 

काभ्रे। जिल्ला बचत संघ काभ्रेपलाञ्चोकको २८औँ साधारणसभा तथा निर्वाचनमा दलगत भागबण्डा हावी भएपछि विवाद चर्किएको छ। नेतृत्व चयनमा विभिन्न राजनीतिक दलबीच समझदारी भए पनि उपाध्यक्ष पदमा दाबी–विरोध उत्पन्न भएको छ भने निर्वाचन आचारसंहिता उल्लङ्घन भएको आरोपसमेत उठेको छ।

बिज्ञापन

दलगत सहमतिअनुसार अध्यक्षमा नेकपा एमालेबाट उदयराम कायस्थ, सचिवमा साविक माओवादीबाट राजन अधिकारी, कोषाध्यक्षमा नेपाली कांग्रेसबाट जीवन श्रेष्ठ चयन भएका छन्। यस्तै लेखा समिति संयोजकमा एमालेका शिवप्रसाद आचार्य, सदस्यमा माओवादीका नवराज केसी र शिक्षक राजकुमार आचार्य रहेका छन्।

तर उपाध्यक्ष पदमा भने सागरनाथ कपाली र नेपाली कांग्रेसबाट निर्मला श्रेष्ठको उम्मेदवारी परेपछि विवाद उत्पन्न भएको हो। निर्मला श्रेष्ठ नारी चेतना केन्द्र बनेपाको अध्यक्ष भई नारी जागरणबाट प्रतिनिधित्व गर्दै आएकी भएकाले निर्वाचन आचारसंहिता अनुसार सोही संस्थाबाट मात्रै प्रतिनिधि बन्नुपर्ने व्यवस्था उल्लङ्घन भएको भन्दै दाबी–विरोध दर्ता गरिएको छ।
यसैबीच, लेखा सुपरिवेक्षण समितिको सदस्य पदमा उम्मेदवारी दिएका शिक्षक राजकुमार आचार्य निर्विरोध निर्वाचित भएका छन्। तर शिक्षक पेसामा संलग्न व्यक्ति सहकारी संघको यस्तो पदमा निर्वाचित हुनु आचारसंहिता विपरीत भएको सहकारी अभियान्ताहरूको आरोप छ।

यस्ता स्पष्ट आचारसंहिता उल्लङ्घन भइरहँदा निर्वाचन उपसमिति र जिम्मेवार पदाधिकारीहरूले मौनता साधेको भन्दै अभियान्ताहरूले गम्भीर प्रश्न उठाएका छन्। उनीहरूले निष्पक्ष, पारदर्शी र नियमसम्मत निर्वाचन प्रक्रिया सुनिश्चित गर्न तत्काल सुधारको माग गरेका छन्।