
काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी पहिलोपटक एनपीएलको फाइनलमा पुगेको हो ।

लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.५ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र बनायो ।


विराटनगरका लागि साम हिजलेटले सर्वाधिक ३४ रन बनाए । नरेन भट्टले २१ रन बनाए भने मर्चेन्ट डे लाङले १७ रन बनाए ।
बलिङमा लुम्बिनीका लागि तिलक भण्डारीले ३ विकेट लिए । रुबेन ट्रम्पलम्यान, जेजे स्मिथ र अभिशेष गौतमले २–२ विकेट लिए । शेर मल्लले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी दोस्रो क्वालिफायरमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ८ विकेटको क्षतिमा १३४ रन बनाएको हो ।
लुम्बिनीका लागि ओपनर डार्शी शर्टले ४५ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३४ रन बनाए । ओपनर दिनेश अधिकारी १ रनमा आउट भए ।
बलिङमा विराटनगरका सुवास भण्डारीले ३ विकेट लिए । प्रतिश जिसीले ३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले २ विकेट लिए ।
लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ ।


