जिल्ला सहकारी संघ काभ्रेमा ‘सहकारी क्षेत्रमा एआई प्रयोग’ विषयक एकदिवसीय तालिम सम्पन्न

 

जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेको आयोजनामा मिति २०८२ मंसिर २४ गते “सहकारी क्षेत्रमा AI (Artificial Intelligence) को प्रयोग” विषयक एकदिवसीय तालिम संघको सभाहलमा सफलतापूर्वक सम्पन्न भएको छ। तालिम कार्यक्रम संघका शिक्षा तथा तालिम व्यवस्थापन उपसमिति संयोजक शान्ती लामा तामाङको सभापतित्वमा तथा संघका अध्यक्ष अमन पोटे श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रविधि विज्ञ सन्दिपराज भाटले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए।

बिज्ञापन

सहकारी संस्थाहरूमा सुशासन, सेवा प्रवाह, वित्तीय व्यवस्थापन तथा सदस्य–संवाद प्रणालीलाई एआई प्रविधिमार्फत अझ प्रभावकारी बनाउन उद्देश्य राखिएको तालिममा संघका संचालक समिति, लेखा सुपरिवेक्षण समिति तथा काभ्रे जिल्लाका विभिन्न सहकारी संस्थाबाट आएका ३२ जनाको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन संघका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले गर्नुभएको थियो।

तालिममा सहकारीहरूको दैनिकी कार्यसम्पादनमा एआई प्रयोगका तरिका, जोखिम व्यवस्थापन, निर्णय प्रक्रियालाई प्रविधिमैत्री बनाउने उपायहरू, एआईमार्फत डेटा विश्लेषण, लेखा व्यवस्थापन, सदस्य सेवा स्वचालन तथा कागजी प्रक्रियाको डिजिटल रूपान्तरण जस्ता विषयबारे विस्तृत रुपमा प्रशिक्षण दिइएको थियो। सहजकर्ता भाटले सहभागीहरूलाई प्रयोगात्मक ढङ्गले विभिन्न उपकरण र विधि अभ्यास गराएका थिए।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै संघका अध्यक्ष अमन पोटे श्रेष्ठले सहकारी क्षेत्रलाई आधुनिक प्रविधिसँग जोडेर दिगो, पारदर्शी र प्रतिस्पर्धी बनाउन यस्तो तालिम अपरिहार्य रहेको उल्लेख गरे। संघका सचिव प्रकाश बञ्जाराले प्रविधिको सकारात्मक–नकारात्मक दुवै पक्ष भएकाले सिकाइलाई सही दिशामा उपयोग गर्न काे आग्रह गरे। त्यस्तै, कोषाध्यक्ष अर्जुन प्रसाद सापकोटाले एआईसम्बन्धी तालिम सहकारी व्यवस्थापनमा कार्यरत कर्मचारीहरूका लागि अत्यन्त उपयोगी सावित हुने विश्वास व्यक्त गर्दै सिकेका कुरा आफ्ना–आफ्ना संस्थामा कार्यान्वयन गर्न अनुरोध गरे।

कार्यक्रम समापन गर्दै संघका उपाध्यक्ष तथा शिक्षा–तालिम उपसमिति संयोजक शान्ती लामा तामाङले सहकारीहरूलाई प्रविधिमैत्री बनाउँदै सदस्य सेवाको गुणस्तर थप उकास्न संघ निरन्तर सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे।

दिनभर सञ्चालन गरिएको तालिमबाट सहभागीहरूले आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्राप्त गरेको भन्दै प्रशिक्षणपछि सहभागीहरूको सुझाव तथा अनुभव संकलन गरिएको संघका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले जानकारी दिएका छन्। संघका अनुसार संकलित सुझावले आगामी दिनमा सहकारी संस्थाहरूका लागि अझ प्रभावकारी तालिम तथा कार्यक्रम निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको छ।