


काठमाडौं — प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले विकास निर्माण, सुशासन र भ्रष्टाचाररहित समाज निर्माण गर्ने ‘जेनजी’ पुस्ताको चाहना पूरा गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताएका छन्।


‘जेनजी’ आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको नयाँ बसपार्क प्रहरी प्रभागको भवन पुनर्निर्माण तथा हस्तान्तरण कार्यक्रममा बोल्दै एआईजी कार्कीले जेनजी आन्दोलनले उठाएका मुद्दा आम नागरिकको पनि अपेक्षा भएकाले प्रहरी त्यसअनुसार परिणाममुखी काम गर्न कटिबद्ध रहेको बताए।

उनका अनुसार गोँगबु तथा नयाँ बसपार्क क्षेत्र सुरक्षा दृष्टिले अत्यन्त संवेदनशील क्षेत्र भएकाले यहाँको सुरक्षामा प्रहरीसँगै नागरिकको सक्रिय सहयोग अपरिहार्य छ। “गोँगबु क्षेत्रमा दैनिक आठदेखि १० हजार मानिस आवतजावत गर्छन्। प्रत्येक नागरिकको सुरक्षा सुनिश्चित गर्नु राज्य र नेपाल प्रहरीको दायित्व हो,” उनले भने। धेरैजनाको आवतजावत हुने ठाउँमा अपराधका घटना बढ्ने सम्भावना रहने भएकाले प्रहरी सतर्क रहने उनले जोड दिए।
एआईजी कार्कीले जेनजी आन्दोलनका क्रममा उपत्यकाका १९३ प्रहरी कार्यालयमा क्षति पुगेकामा हालसम्म १८० भवन स्थानीय नागरिकको सक्रियतामा पुनर्निर्माण भइसकेको जानकारी दिए। नयाँ भवन सञ्चालनमा आएपछि प्रहरीले उच्च मनोबलका साथ सेवाप्रवाह गर्न सक्ने उनले विश्वास व्यक्त गरे।


