जिल्लाभित्र ‘५ मिनेट कार्यक्रम’ सञ्चालन, ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीमाथि कडाइ

 

बनेपा — जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, काभ्रेपलाञ्चोक तथा मातहतका अस्थायी ट्राफिक प्रहरी पोष्टहरूद्वारा जिल्लाभित्र सञ्चालन हुने साथै काभ्रे हुँदै अन्य जिल्लातर्फ आवतजावत गर्ने सवारीसाधनलाई लक्षित गर्दै ‘५ मिनेट कार्यक्रम’ सञ्चालन गरिएको छ।

बिज्ञापन

कार्यक्रमअन्तर्गत सवारी दुर्घटना न्यूनिकरणका लागि तिब्र गतिमा सवारी चलाउन नहुने, जथाभावी ओभरटेक नगर्ने, भाडाका सार्वजनिक सवारीमा तोकिएको भाडा राख्ने, आरक्षण सिट सुरक्षित गर्ने, मापसे गरी सवारी नचलाउने, अस्पताल तथा विद्यालय क्षेत्रभित्र प्रेशर हर्न प्रयोग नगर्नेसहितका सूचनाहरू चालकलाई दिइएको ट्राफिक प्रहरीले जनाएको छ।

त्यसैगरी, अनावश्यक रूपमा राखिएको प्रेशर हर्न र झल्लरसमेत ट्राफिक प्रहरीले तत्कालै हटाइदिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले काभ्रे प्रेसलाई ‘५ मिनेट कार्यक्रम’ नियमित रूपमा सञ्चालन भइरहेकाले यसको प्रभाव देखिन थालेको जानकारी दिए।