



नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले तोकिएको समयमै निर्वाचन गर्न सरकारसँग माग गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष ढकालले निर्वाचनको विकल्प नरहेको बताएका हुन्।
तोकिएको समयमै शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउन नेपाल सरकारसँग उनको माग छ । निर्वाचनमा सबै दलको उत्साहजनक सहभागिता सुनिश्चित गर्नुपर्ने भन्दै उनले सबैको सहभागिताले मात्रैलोकतन्त्रलाई बलियो बनाउने बताएका छन् । उनले अन्तरिम सरकारको प्राथमिकता निर्वाचन र सुशासन हुनुपर्नेमा जोड दिँदै संवादको आह्वान गरेका छन्। यसका लागि उनले सरकारलाई राजनीतिक दलहरूसँग तुरुन्तै जीवन्त संवाद गर्न आग्रह गरेका छन्।


उनले निर्वाचन आयोगलाई साधन र स्रोतसम्पन्न बनाउन पनि माग गरेका छन्। साथै, ढकालले सुरक्षा निकायको मनोबल उच्च बनाउन, मानव अधिकार र नागरिक स्वतन्त्रताको प्रत्याभूति गराउन तथा जेनजी आन्दोलनका जायज मागहरूलाई सम्बोधन गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन्।
निर्वाचन आयोगले निर्वाचनको तालिका सार्वजनिक गरिसकेकाले अब निर्वाचनको तयारीमा जुट्नुपर्नेमा उनले जोड दिएका छन्।
