“भाषणको भीडमा हराएको सहकारीको वास्तविक समस्या”

दिलिप शर्मा / अध्यक्ष – सारथि बहुउद्देश्यीय सहकारी संस्था लि.

सहकारीमा समस्या केन्द्रित बृहत छलफल किन हुन सकेन ?

बिज्ञापन

अहिले सहकारी क्षेत्रमा परिस्थितिले कोल्टो फेरेको छ । कसैले कसैको कुरा सुन्ने चाहना छैन, वास्ता पनि छैन । सहभागिताका लागि आग्रह गर्ने चलन हराएको छ, गरेपनि आफ्नो अनुकूल मात्रै कार्यक्रम आयोजना गर्ने प्रवृत्ति बढेको छ । कुन–कस्ता कार्यक्रम आवश्यक छन्, कसरी अगाडि बढ्ने भन्ने गम्भीर प्रश्नमा ध्यानै गएको देखिँदैन । के अब पनि सम्हाल्न बाँकी केही छ जस्तो लाग्छ अभियानकर्मीहरूलाई ?

हालै एकजना अभियानकर्मीले गुनासो गर्दै भनेका थिए – “एउटा कार्यक्रममा केन्द्र र राष्ट्रिय स्तरमा गर्नुपर्ने क्रियाकलापबारे आफ्नो धारणा राख्दा उल्टै भरीभराउ सभामा व्यक्तिगत रूपमा गाली खानुपर्‍यो।” प्रश्न उठ्छ – अरूको सुझाव ग्रहण गर्न नसकिने हो भने किन सार्वजनिक कार्यक्रममा बोलाएर मानमर्दन गर्ने ? राज्य पक्ष र सिंगो अभियानलाई सकारात्मक सन्देश जाने गरी बुझाउन नसक्ने, विश्वस्त तुल्याउन नसक्ने, तर अरूलाई बोलाएर झपार्ने प्रवृत्ति किन ?

यही अवस्था छ अहिले सहकारी अभियानको । मञ्चमा बसेर ठूलो भाषण गर्ने, मन लागे अनुसार बोल्ने, सान्दर्भिक होस् वा नहोस्, बोलेर टाप कस्यो – यसरी हुन्छ त समस्या समाधान ? यदि सकिँदैन भने पद त्यागेर मार्ग प्रशस्त गर्नु नै उचित हुन्छ । नेतृत्व गर्ने तर अरूको कुरा नसुन्ने, पदमा मात्र अड्किरहने कारण ३२ हजार सहकारीको भविष्य अन्धकारतिर धकेलिँदै गएको छ ।

मलाई थाहा छ, नेतृत्वबारे प्रश्न गर्दा ममाथि पनि प्रश्न उठ्न सक्छ, फोन आउन सक्छ । तर यसले फरक पार्दैन । म सधैं जानेका र अनुभव गरेका विषयमा धारणा राख्दै आएको छु – लेखमार्फत, मञ्चमार्फत वा अनौपचारिक बहस–छलफलमार्फत । लामो समय सहकारी क्षेत्रमा काम गर्दा पालिकास्तरसम्मका सहकारी र तिनका नेतृत्वसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएको छु । तर अहिले जस्ता अनुभवीहरूको विचार सुन्ने फुर्सद कसैलाई छैन ।

किन छैन ? किनभने सहकारीका आधारभूत विषयमा कसैले गहिरो चासो राख्दैन । मैले बुझेको सहकारी र उनीहरूले बुझेको सहकारीबीच आकाश–पाताल फरक छ । एउटै आशयमा राखेको कुरालाई अर्काले फरक बुझ्ने र साझा धारणा बन्न नसक्ने अवस्था छ । परिणामत: बहालवाला नेतृत्वले उल्टै आलोचना गर्ने, बदनाम गर्ने प्रवृत्ति देखिन्छ ।

समस्या समाधान केन्द्रित कार्यक्रमको अभाव

सहकारी क्षेत्रमा समस्या ज्यूँका त्यूँ रहनुको मुख्य कारण नै तल्लो तहसम्म पुगेर समस्या केन्द्रित छलफल हुन नसक्नु हो । जिल्लामा ब्यालेन्स सिट ठूलो देखिएका केही सहकारी नेतासँग कोठाभित्र सामान्य छलफल गरेरै सन्तुष्टि लिने प्रवृत्ति छ । तर प्रारम्भिक सहकारी संस्थाहरू भने अभिभावकविहीन, टुहुरा झैँ बनेका छन् ।

७५३ पालिकामध्ये कुनै एक दिन स्थानीय सहकारीसँग प्रत्यक्ष छलफल, अन्तरक्रिया, बहस गर्ने काम भएको देखिँदैन । संघ–संस्थाले पालिकास्तरका सहकारीलाई अभिभावकत्व दिनुपर्ने हो तर त्यो भरोसा दिन सक्ने अवस्था छैन । उल्टै सबै कार्यक्रम काठमाडौंमै केन्द्रित, उही मान्छे, उही भाषण । नयाँपन र आशा जगाउने कुरा शून्य । यसरी सुधार सम्भव हुन्छ ?

अनुभवी अभियानकर्मीहरूको वेवास्ता

देशभर कैयौं सहकारीमा उल्लेखनीय काम गरेका अभियानकर्मीहरू छन् । सहकारीका सिद्धान्त, मूल्य र सञ्चालन पद्धति ती अभियन्तालाई जति थाहा छ, अरूलाई नहुन सक्छ । तर आज त्यही वर्ग पलायन भएको छ । उनीहरूको त्याग र अनुभव बेवास्ता गरिएको छ । बरु नयाँ भनिएका अभियानकर्मीहरूलाई नै अगाडि ल्याइएको छ, जसले सहकारीका सात सिद्धान्तसम्म सहजै भन्न सक्दैनन् ।

मलाई लाग्छ, अहिलेको समस्या समाधान गर्न धेरै मिहिनेत जरूरी छैन । सबैभन्दा ठूलो कमी भनेको “काम गर्नुपर्छ र गरौँ” भन्ने इच्छाशक्ति मात्र हो । अहिलेको नेतृत्वसँग ठोस योजना छैन, त्यसैले भेला भएर पनि “के गर्ने ? कसरी गर्ने ?” भन्ने आधारभूत प्रश्नमै अल्झिन्छन् ।

समाधानका बाटा

अहिले पनि समय छ । काम गर्ने हो भने अनुभवी, पाका, ५० वर्षदेखि सहकारी बुझ्दै आएका अभियन्तासँग अनुभव साटासाट गर्नुपर्छ । केन्द्रले केन्द्रमा, प्रदेशले प्रदेशमा, जिल्लाले जिल्लामा र पालिकाले पालिकामा समस्या केन्द्रित छलफल, बहस र पैरवी गर्नुपर्छ ।

यदि यसरी काम गरिएन भने केवल भाषण गरेर जनता दिग्भ्रमित पार्ने प्रवृत्ति अझै बढ्छ । त्यसैले – समस्या समाधान केन्द्रित छलफल, कार्ययोजना र सहकार्यमा जोड दिऔँ, यहीँ सबैको भलो छ ।