



काभ्रेपलाञ्चोक, खानीखोला — समाजसेवा, श्रमिक अधिकार, योग, खेलकुद र सहकारी अभियानमा सक्रिय बहुआयामी व्यक्तित्व राजन अधिकारीलाई “राष्ट्रिय रत्न सम्मान तथा अवार्ड–२०८२” अन्तर्गत “राष्ट्रिय सामाजिक उत्कृष्ट व्यक्तित्व सम्मान–२०८२” बाट सम्मानित गरिएको छ।



राजन अधिकारीले लामो समयदेखि नेपाली समाजको समृद्धि, समानता र सशक्तिकरणका लागि विविध भूमिकामा अतुलनीय योगदान दिँदै आएका छन्। योग अभियन्ताका रूपमा उनले जनस्वास्थ्य, मानसिक सन्तुलन र आत्मिक चेतनाको अभिवृद्धिमा योगदान पुर्याउँदै आएका छन् भने समाजसेवीको रूपमा वञ्चित, पिछडिएका तथा सीमान्तकृत समुदायको सेवा र उत्थानमा निरन्तर क्रियाशील रहेका छन्।

श्रमिक अधिकारकर्मीको हैसियतले श्रमिक वर्गका हक र न्याय सुनिश्चित गर्न दृढतापूर्वक आवाज उठाउँदै आएका अधिकारी सामाजिक अभियान्ता र सहकारी अभियानीका रूपमा दिगो विकास, आर्थिक आत्मनिर्भरता र समुदायिक सहकार्य प्रवर्द्धनमा संलग्न छन्। त्यस्तै, खेलकुद अभियानकर्मीको रूपमा युवालाई सकारात्मक ऊर्जा र राष्ट्रनिर्माणमा जोड्ने प्रयासमा पनि उनले उल्लेखनीय भूमिका खेलेका छन्।
खानीखोला गाउँपालिकाबाट उदाएका अधिकारी एक सक्रिय राजनीतिक व्यक्तित्व पनि हुन्, जो सामाजिक न्याय, मानव अधिकार र समान अवसरको पक्षमा आवाज बुलन्द गर्दै देश परिवर्तनको यात्रामा अग्रसर छन्।
उक्त सम्मान समारी इन्टरनेशनल इभेन्टको आयोजनामा भक्तपुरको बोडेस्थित कृषि विकास बैंक सभा हलमा आयोजित विशेष समारोहमा प्रदान गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य छिरिङ ल्हामु लामाले राजन अधिकारीलाई सम्मान प्रदान गरेकी हुन्।
यो सम्मान अधिकारीको समर्पण, नेतृत्व र सामाजिक परिवर्तनप्रतिको योगदानको औपचारिक कदरका रूपमा गरिएको हो, जसले उहाँलाई अझ प्रेरित र ऊर्जावान बनाएको छ।