काठमाडौं – चलचित्र ‘राजकुमारी’ को औपचारिक निर्माण घोषणा गरिएको छ। करिब ५ करोड लगानी लागत अनुमान गरेर निर्माणमा होमिएको निर्माण टिमले चलचित्रको टाइटल सार्वजनिक गर्दै यस चलचित्रले प्रेम, संघर्ष र साहसको अद्वितीय कथा नेपाली दर्शकमाझ प्रस्तुत गर्ने जानकारी दिएको छ।

चलचित्रको लेखन तथा निर्देशन पुराना निर्देशक रिम विश्वकर्माले गर्दैछन् । निर्देशक विश्वकर्माले यस चलचित्रलाई ‘ड्रिम प्रोजेक्ट’ को रुपमा लिएको बताए । उनले भने, –‘मैले यसअघि पनि केही चलचित्र बनाएको थिएँ, तर यो प्रोजेक्ट मेरो लागि डेब्यु निर्देशन जस्तै हुनेछ। यसका पछाडी केहि कारण छन्, त्यो म पछि खुलाउनेछु।’

रेडलाइन्स फिल्म प्रा.लि. को ब्यानरमा निर्माण हुने यस चलचत्रिलाई पी.बी. थापाले एकल रुपमा लगानी गर्दैछन् । निर्माता थापाले यो चलचित्रको कथा र यसले उठान गर्ने विषयप्रति गहिरो रुपमा प्रभावित भएका कारण लगानी गर्न तयार भएको जनाए । थापाले भने, ‘नेपाली दर्शकले पहिलोपटक फरक स्वादको एक गहिरो प्रेमकथा अनुभव गर्नेछन्। बाँकी कुरा सुभमुहुर्त कार्यक्रममा बोल्नेछौं।’

फिल्मको मुख्य पात्र राजकुमारी को भूमिकाका लागि अभिनेत्रीको छनोट प्रक्रिया जारी रहेको जनाइएको छ । निर्माण टिमले केही चर्चित अभिनेत्रीहरूसँग कुराकानी गरिरहेको भएपनि मुख्य अभिनेत्री को हुने भन्ने बिषय टुंगोमा नपुगेको निर्देशक विश्वकर्माले बताए । यद्यपि, चलचित्रका अन्य कलाकार र प्राविधिक टोलीको चयन लगभग अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ।

चलचित्रको छायांकन प्रक्रिया केही महिनाभित्र सुरु गरिने गरी प्रि–प्रोडक्सनको काम भैरहेको बुझिएको छ । निर्देशक विश्वकर्माका आगामी भदौसम्म फ्लोरमा जानेगरी तयारी भइरहेको छ । चलचित्रको प्रदर्शन मिति भने अहिलेसम्म फाइनल गरिएको छैन ।
टाइटल अनुसार चलचित्र राजपरिवारसँग नजिक रहेर बन्न सक्ने अनुमान गर्न सकिन्छ । तर, निर्माण टिमले यसको कथावस्तु पूर्ण रूपमा खुलाएको छैन । निर्माण टिमले दर्शकलाई सस्पेन्समा राख्दै सबै विवरण चरणबद्ध रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
निर्देशक विश्वकर्माको चलचित्र ‘हेल्लो काँशीराम’ आगामी जेठ २ गते देशव्यापी प्रदर्शनमा आउँदैछ। उनले पछिल्ला वर्षमा निर्देशनमा सक्रियता बढाएका छन् र ‘राजकुमारी’ मार्फत आफूलाई पूर्णरूपमा निर्देशकको रुपमा स्थापित गर्ने दाबी गरेका छन्।

नेपाली चलचित्र उद्योगमा नवप्रवेशी ऊर्जा र मौलिक कथावस्तुको खोजी भइरहेको बेला ‘राजकुमारी’ ले नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ। चलचत्रिको काठमाडौंमा अधिघकांश छायांकन हुनेछ भने अन्य केहि दृश्य मुस्ताङ, पोखरा लगायतका क्षेत्रमा पनि खिच्ने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly