अमलटार । काभ्रे जिल्लाको रोशी गाउँपालिकाका कर्मचारी बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको अध्यक्षता तथा जिल्ला समन्वय समिति काभ्रेका समन्वय अधिकारी पिताम्बर पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
शुक्रबार भएको उक्त बैठक तथा प्रशिक्षण कार्यक्रममा असोजमा आएको बाढीमा कर्मचारीहरूको अनुभव र भोगाइहरू साटासाट गरेका थिए । जनप्रतिनिधिहरू सगँसगै विपद प्रतिकार्य तथा उद्धारमा खटिदाको अनुभवहरू कार्यक्रममा व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका समन्वय अधिकारी पाण्डेले बाढीमा रोशीका जनप्रतिनिधि र कर्मचारीले गरेको योगदानको प्रशंसा गरेका छन् । गत साउन १० देखि १३ गतेसम्म परेको अविरल बर्षाका कारण आएको बाढी पश्चात उद्धारमा रोशीका जनप्रतिनिधि र कर्मचारीहरू एकजुट भएर लागेको उनको भनाई छ । जिल्लाको अन्य पालिकाको तुलनामा रोशीका कर्मचारी र जनप्रतिनिधिहरूले विपदमा प्रशंसानीय काम गरेको उनले बताए ।
हिजो जे जे भएपनि र जसरी उद्धारका काम गरेपनि आगामी दिनमा विपद पूर्व गर्नुपर्ने कामहरूलाई प्राथमिकताका साथ गर्नुपर्ने समन्वय अधिकारी पाण्डेले बताए । प्रकोप तथा विपदको कार्ययोजना तयार गरेर अगाडी बढ्ने उनले सुझाव दिए ।
प्रशिक्षण कार्यक्रममा समन्वय अधिकारी पाण्डेले कर्मचारीहरूले आफ्नो दायित्व र जिम्मेवारी बुझेर काम कर्तव्य गर्नुपर्ने बताए । विपदको समयमा कर्मचारीहरू सुविधाको पछाडी नलागि दायित्व र जिम्मेवारी बहन गर्न तर्फ लाग्नुपर्ने उनको भनाई छ ।
रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाले असोज १० देखि १३ गतेको अविरल बर्षा र बाढी पश्चातको अवस्था र अनुभव सुनाएका छन् । अविरल बर्षापछिको बाढीमा के गर्ने के नगर्ने भन्ने अन्योलता सिर्जना भएको उनले बताए । बाढीमा नेटवर्क नलाग्दा एक खालको अन्योलता सिर्जना भएको उनले बताए । बाढी लगत्तै बिपी राजमार्गको यात्रु र बाढीपीडितलाई उद्धारमा लागेको उनले बताए । बाढीपछि २४ घण्टापछि मात्र गाउँपालिका अध्यक्ष दिनेश लामा लगायत अन्य सँग सम्पर्क भएको र त्यस दिनदेखि लगातार उद्धारमा लागेको उनले बताए । शाखाप्रमुखहरूसँग सल्लाह सुझाव लिएर बाढीको सामना गरेको उनले बताए । बाढीमा रात र दिन नभनी पिडितको उद्धार र व्यवस्थापनको लागि सामर्थ र क्षमता अनुसार लागि परेको भन्दै सहयोग गर्ने कर्मचारीहरूलाई धन्यवाद व्यक्त गरे ।
बाढीको कारण रोशी गाउँपालिकाको वजेटमा प्रभाव परेको प्रमुख प्रशासकीय अधिकृत भन्तनाले बताए । साँढे तीन करोड बजेट घटाएको र २ सय ६६ योजनाहरू शंसोधन गर्नुपरेको उनको भनाई छ । पालिकाको आम्दानीको स्रोतमा क्षती पुर्याएकोले बजेट तथा योजना संशोधन भएको उनले बताए ।
गाउँपालिकाका बरिष्ठ लेखा अधिकृत दण्डपाणी पौडेलले बिशेष अधिवेशन, वित्तीय अनुशासन तथा आर्थिक दायित्वको बिषयमा प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । लक्ष्य अनुसार राजश्व नउठेका कारण बजेट कार्यान्वयनमा समस्या आई घाटा बजेट बन्ने गरेको उनले बताए । बाढीले पालिकाको आयस्रोतमा क्षती पुगेकोले आम्दानी घटेको कारण बजेट संशोधन गर्नुपरेको लेखाअधिकृत पौडेलले बताएका छन् । विपद व्यवस्थापनको लागि गाउँपालिकामा कार्यरत कर्मचारीहरूको ५ दिनको तलव र जनप्रतिनिधिहरूको आधी महिनाको सुविधा कटाएर प्रकोप कोषमा जम्मा गरेको उनले बताए ।
शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद दाहालले विपद व्यवस्थापनमा कर्मचारीको भूमिका बिषयमा प्रशिक्षणात्मक भनाई राखेका थिए । जनप्रतिनिधिहरूले नीति निर्माण गर्छ र त्यसलाई कार्यान्वयन कर्मचारीहरूले गर्नुपर्ने र गरीरहेको दाहालले बताए । राज्यको प्रतिनिधित्व कर्मचारीको काम कर्तव्यले गर्ने दाहालको भनाई छ । गत असोजको बाढीमा केही कर्मचारीहरूले जिम्मेवारी र दायित्व पूरा नगरेको हो की भन्ने भान भएको उनले बताए ।
विपदप्रतिकार्यको योजना बनाउदा नै हामी कहि कतै चुकेको हो की भन्ने आफुलाई भान भएको शिक्षा शाखा प्रमुख दाहालले बताए । विपद प्रतिकार्यमा रोशीको अवस्था पहिरोको जोखिम भएको तर बाढीको जोखिम नभएको पाईएकोमा जिल्लाभरीमा रोशीमा बाढीले धेरै क्षती व्यहोर्नुपरेको उनले बताए । त्यतीखेर गलत निणर्य गरेको हो की भन्ने भान भएको उनले बताए । विपदपूर्व तयारीमा गाउँपालिकाका कर्मचारीहरू चुकेको हो की भन्ने भान भएको उनले बताए ।
त्यसरी नै पालिकाका सूचना अधिकारी प्रकाश पौड्यालले विपद प्रतिकार्यमा सूचना, तथ्यांक संकलनमा बिलम्ब र हाम्रो तितो अनुभव भन्ने बिषयमा मन्तव्य राखेका थिए । बाढी पश्चात सूचना प्रविधि सूचारुमा समस्या आउँदा विपद प्रतिकार्यको सूचना र तथ्यांक संकलनमा आफूहरू चुकेको बताए । पालिका र वडाकार्यालयमा सम्पर्क नहुदा तथ्यांक संकलनमा समस्या भईरहेको र सम्पर्क आएपछि पनि केही वडामा कर्मचारीहरूको तदारुकताको कमीले गर्दा तथ्यांक संकलनमा प्रभाव परेको उनले बताए । जसले गर्दा विपद व्यवस्थापनमा समस्या परेको उनको भनाई छ ।
स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले विपदको अवस्थामा स्वास्थ्य सेवाको निरन्तरतामा कठिनाई तथा हाम्रो अभ्यास भन्ने बिषयमा आफ्नो धारणा राखेका थिए । चाडपर्वमा समेत स्वास्यकर्मीहरू कार्यक्षेत्रमा बसेर नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गरिरहेको उनको भनाई छ ।
पूर्वाधार बिकास शाखाका प्रमुख भुपेन्द्र अधिकारीले विपद व्यवस्थापनमा पूर्वाधार संचालनमा अन्योलता तथा प्राविधिक कर्मचारीको भूमिका बिषयमा अनुभव व्यक्त गरेका थिए । तथ्यांक संकलनमा अन्योलता, जटिलता र उदासिनताले गर्दा समयमै विवरण सार्वजनिक गर्न नसक्दा बाढीपीडितका लागि राहत तथा उद्धारमा ढिलाइ भएको उनले बताए ।
प्राबिधिक स्टमेडविनै सडक लगायत संरचना निर्माण हुदा बाढीपहिरोले क्षति बढी हुन पुगेको हुनसक्ने उनले बताए ।
त्यसरी नै वडासचिव मधुसुदन पन्थीले विपदमा कामको अनुभवतथा पदीय भूमिकामा पाएको सन्तुष्टि र मंगलटार स्वास्थ्य चौकीकी प्रमुख निशा बरालले विपदमा काम गर्दाको चुनौतीहरू तथा हाम्रो भोगाई बिषयमा धारणा राखेका थिए ।
उक्त कार्यक्रममा गाउँपालिकाका सबै शाखाप्रमुख, कर्मचारी र वडाका कर्मचारीहरूको उपस्थिती रहेका थिए ।