काभ्रेपलान्चोक – नेपाल कम्युनिष्ट पार्टी एमाले काभ्रेपलान्चोक जिल्ला कमिटीको दोश्रो पुर्ण बैठक बार्षिक कार्ययोजना पारित गर्दै आइतबार सम्पन्न भएको छ ।

नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी इन्चार्ज डा. राजन भट्टराई, एमाले पोलिटब्युरो सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटाको उपस्थितिमा जिल्ला अध्यक्ष राजन भुर्तेलको अध्यक्षतामा धुलिखेल लज रिसोर्टमा सम्पन्न बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।

स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले अबको पार्टीको लक्ष मिसन २०८४ भएकोले त्यसलाई केन्द्रमा राखेर पार्टीको अभियान अघि बढाउन निर्देशन दिनुभयो ।

बैठकमा इन्चार्ज गोकुल बास्कोटाले निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो । उहाँले एमालेलाई आगामी निर्वाचनमा विजयी शक्तिका रूपमा स्थापित गराउन सकिने गरि क्रियाशिल हुन सिङ्गो पार्टी कमिटीलाई निर्देशन दिनु भयो । बैठकले पार्टीका अभियानलाई व्यवस्थित रूपले अघि बढाउने निर्णय गरेको छ ।

बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले पार्टी निर्माणको काममा उत्साहित भएर लाग्न आग्रह गर्नुभयो । निराशाका कुरा गरेर अघि बढ्न नसकिने बताउँदै ढुङ्गेलले आशा र उत्साहको सञ्चार हुने गरी काम गर्न सुझाव दिनुभयो ।

पार्टीले एक वर्ष भरी गर्ने कामको वार्षिक कार्ययोजना पनि बनाएको छ । त्यसको लागि आवश्यक पर्ने बजेट समेत बैठकले बनाएको छ ।

विशेष क्षेत्रमा नेकपा (एमाले)को प्रभाव बलियो बनाउन आवश्यक प्रशिक्षण, भेला, विषयगत अन्तरक्रिया र सम्वादहरू आयोजना गर्ने वार्षिक कार्यक्रम र बार्षिक अनुमानित बजेट पनि बैठकले पारित गरेको छ ।

बैठकको सञ्चालन सचिव राजकुमार सापकोटाले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष देवसागर लामाले राख्नु भएको थियो।

कार्यक्रममा केन्द्रिय सदस्य रेशम लामा,बागमती प्रदेश उप-सचिव भक्तकुमारी लामा, बागमती प्रदेश कमिटी सदस्य तथा पुर्व काभ्रे जिल्ला अध्यक्ष अशोक कुमार ब्यान्जु श्रेष्ठ, उप-सचिव रत्नकुश रंजितकार, सुर्य माया दनुवार लगायतको उपस्थिति बैठक सम्पन्न भएको थियो ।

बैठकले मंसिरसम्ममा पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको छ । त्यसअघि कार्तिकसम्ममा वडा अधिवेशन गरिसक्ने तयारी छ । जिल्लामा १३ पालिका मध्ये चौंरीदेउराली गाउँपालिकामा भने अधिवेशन सम्पन्न भइसकेको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly