प्रदीप सापकोटा
मुक्तक भन्नासाथ कविताको सानो रुप बुझिन्छ । मुक्तकले अत्यन्तै थोरै शब्दमा धेरै कुरालाई उजागर गर्दछ । यो अहिले साहित्यको स्वतंत्र विधाको रुपमा लोकप्रिय छ । यसले भावलाई पोख्छ । यसमा चतुष्पदीय हरफ भित्र तुक प्रयोग गरेर पहिलो र दोस्रो हरफ लेखिन्छ भने तेस्रो हरफ स्वतंत्र हुन्छ । अन्तिम हरफ पहिलो र दोस्रोसँग मिलेको हुनुपर्छ ।
कुनैपनि मुक्तकको पहिलो हरफले मुक्तकमा लेखिने विषयवस्तुको उठान गरेको हुन्छ,यसको समर्थनमा दोस्रो हरफ रहन्छ र तेस्रो हरफले स्वतंत्र रुपमा मुक्तकको पृष्ठभूमि उजागर गर्छ र अन्त्यमा चौथो हरफले वजनदार झड्का दिन्छ । अन्त्यानुप्रास मिलेमा मात्र मुक्तक बन्छ । मुक्तकमा कमभन्दा कम शब्द प्रयोग गर्नु राम्रो मानिन्छ ।
दिलिप योञ्जन तामाङ गीत र मुक्तकमा जमेको नाम हो । उनका करिव एक दर्जन कृतिहरु प्रकाशित भैसकेका छन् । यस्तै कृति मध्येको अमर मुक्तकसंग्रह भित्र २ सय ६४ बटा मुक्तकहरु समेटेर प्रकाशनमा ल्याएका छन् । यसमा माया प्रेम,सम्बन्धका विषय अटेका छन् । दिलिपले कतै वर्तमान फोहोरी राजनीति प्रति दिक्क भएर तिखो प्रहार गरेका छन् भने कतै वर्तमान समयको स्थार्थ,जालझेलको बारेमा बोलेका छन् । राष्ट्रियताको पक्षमा उनको दृढता पनि मुक्तकको विषय बनेको देखिन्छ ।
सर्वसाधारण आम मान्छेका पीडाको आगो ओकल्छन् । सर्वसाधारण मान्छेहरुलाई भरेंङ बनाएर सत्तारोहण गर्ने प्रयासरत नेताहरु सत्तासिन भएसंगै आफ्ना बाचावन्धन भुलेर स्वार्थको आहालमा पौडि खेलिरहेको यथार्थलाई उनले मुक्तकको विषय बनाएका छन् । पदासिन भएपनि विचारको ढर्रा पुरातन भएकैले जनताले दुःख खेपिरहेको यथार्थलाई सबै सामु राख्छन् उनी । पात्र जो कोहि भएपनि परिपाटी ,व्यवहार , आचरण र प्रवृत्ति उही भएकोले जनता मारमा परेको उनको ठम्याई छ । चुनावमा मात्र खोक्रा आश्वासन वाँड्ने नेपाली नेताहरुको फेरिएको बोली र ब्यवहारले मुक्तककारलाई दिक्क बनाउँछ ।
सर्सर्ती हेर्दा दिलिपका मुक्तकहरु विषयगत विविधतामा देखिन्छन् ।
राष्टि”यताको भावले ओतप्रोत मुक्तक हेरौंः
तिमी टन्न अघाएको देख्दा,मलाई भोकै बस्न मन ला’छ
तिमीले देश डुबाएको देख्दा,मेरो रगत उम्लँदै गा’छ
सुन्दर मेरो देश लुछाचुँडी गरेर बाँड्यौ,चपायौ,पचायौ
देशको माटो बेच्नेलाई देख्दा,जिउँदै जलाउँझै भा’छ (पृष्ठः६४)
माथिको मुक्तकले देशलाई डुबाउनेहरुप्रति धावा वोलिएको छ । मनैदेखि आक्रोश ब्यक्त गरिएको छ । मुक्तककार आफ्नो राष्ट” र राष्टि”यताप्रति संवेदनशिल रहेका छन् भन्ने संकेत गरेको छ । आफ्नो माटोको माया लाग्छ उनलाई । अरुको अपमान र घृणा सह्य गर्दैनन् । यति सुन्दर देश विकृत बनेकोमा उनलाई दुःख लाग्छ ।
दिलिप समसमायिक नेपाली परिवेश,राजनीति,विचारदर्शन,ब्यक्तिका स्वार्थपना लगायतका विषयमा मुक्तक मार्फत ब्यँग प्रहार गर्छन् । कुर्सीमोहले देश विग्रको ठहर गर्छन् । भाषणले गरिवको पेट नभरिने कुरा गर्छन् । जनताको दुःखमा ध्यान नदिने प्रति कटाक्ष गर्छन् यसरी ः
खाली भाषण,देशको मुहार फेर्ने कोही छैन्
आफ्नो भुँडी छोडी जनतालाई टेर्ने कोही छैन्
भागवण्डा लाउँछन् कुर्सी खान बाँडीचुँडी
मरे जनता बाँच्ने आशमा,हेर्ने कोही छैन् ।
(पेजः ५७)
यसरी प्रवृत्तिगत रुपमा भन्ने हो भने अमरमा समावेश प्रायः मुक्तकहरु ब्यँङगप्रधान देखिन्छन् । सामाजिक उत्तर दायित्ववाट कुनैपनि सचेत मान्छे पर भाग्न मिल्दैन् यसमा उक्त उत्तरदायित्ववोध गरेर विकृत मानसिकतामाथि चर्काे प्रहार गर्छन् । विकासका पक्षधर मुक्तककारलाई नेपालको विकासे परिपाटीदेखि दिक्क लाग्छ । जलश्रोतको धनी मुलुक विजुली अन्तबाट आयात गर्छ । अनि यहाँका बेथिति प्रति मन दुख्छ अनि पोखिन्छन दिलिप
जुन देश जलको धनी,उसैले विजुली किन्छ
माटो र आमाको माया छैन्, कसरी देश चिन्छ
माटो,पानी बेचेर बाँचेपनि जिउँदै त्यो मरेसरी
आफ्नै स्वार्थ सर्वाेपरी हुनेले,देशलाई के दिन्छ ?
मायाप्रीतिका प्रेमिल भाव,मायाप्रीतिका तर·हरुलाई पनि उनलाई छुन्छ । प्रेम पीडा,प्रेममा पाइने फूलको महकता,प्रेम सम्बन्धमा छाउँने तुवाँलो,प्रेममा सम्मोहित भएको समय,प्रेमको अनुभूतिमा लछप्पै भिज्न रुचाउँछन् तामाङ । प्रेमविना संसार सम्भव थिएन उनको ठोकुवा छ । प्रेममा अल्झिएका उनी रोमान्टिक पनि लाग्छन् । प्रेमको विशालताको मापन गर्न मुस्किल पर्ने कुरामा सावधान पनि गराउँछन् । प्रेमविना मानिसको जीवन सहज नहुनेतर्फ पनि उनी सतर्क छन् । प्रेम नै सुख हो भन्ने उनको अनुभूति छ । अनि उनी प्रेमसँग देशको माया जोड्न रुचि राख्छन्
फूलसरी फूल्ुनुपर्छ,सुवास छरी वरिपरि
मनभित्र सजाउनुपर्छ, सुवास छरी मनैभरि
चोखो माया पवित्र हुन्छ,रहन्छ बनी अमर
हाँसी खुशी बाँच्नुपर्छ,देशको माया गरी ।
(पेज ४६)
कुनैपनि कुराले छोएपछि मात्र लेख्छन् दिलिप । विषयको गहिराईमा पुगेर कुनैपनि कुराको अनुभुतिले मात्र लेख्छन् । राजनीति,जनताका अभाव गरिवी,पीडा,प्रेम आदि विषयमा उनका मुक्तक छन् । राजनीतिक रुपमा चाँडो चाँडो परिवर्तन भएको देखेभोगेका उनी आर्थिक रुपमा गरिवी अभाव र भ्रष्टाचारको विपक्षमा उभिएका छन् । जनताको मनोब्यथालाई मुक्तकमा बोल्दछन् । उनका मुक्तकमा देशप्रेम पनि पोखिएको छ । युगबोधका दृष्टिले वलिष्ठ लाग्छन् ।
उनी आफ्ना मुक्तकहरुलाई लयात्मकताले पुष्ठ पार्न खप्पिस छन् । भाषिक शब्दचयनले मुक्तकमा मिठास भर्न सिपालु छन् । थोरै शब्दमा धेरै आशय ब्यक्त गर्न सक्नु मुक्तकको विशेषता मानिन्छ । यो दृष्टिले उनका मुक्तक सार्थक लाग्छन् । समयचेतले सान्दर्भिक,राजनीतिक अस्तब्यस्तता प्रतिको तीखो छेडखान,मानविय भाव र संबेदनाले भरिपूर्ण उनका मुक्तकले निराशासँगै आशावादीताको संचार पनि गरेका छन् । सामयिकताको गोलचक्कर वरिपरि छन् मुक्तकहरु भन्दा फरक पर्दैन् ।
संरचनात्मक हिसावले उनको मुक्तकशिल्प राम्रो छ । भाषिकशिल्प राम्रो छ । कलात्मकताको लेपन आवश्यकता अनुसार भएको छ । चोटिला,स्वादिला मुक्तकले पाठकलाई स्वादन गराउन सक्छ । अनुभुतिलाई तिव्रतर रुपमा अभिब्यक्त गर्न मुक्तकहरु सफल देखिएकाछन् ।
कुनैपनि मुक्तक झरिलो,खिरिलो,रसिलो र स्वादिलो हुनपर्छ । मुक्तक कलात्मक छोटा कविताको तस्विर भएकोले झट्ट हेर्नासाथ के भन्न खोजेको हो,के सन्देश दिन खोजेको हो प्रष्टताकासाथ सम्बोधन गर्न सक्ने हुनुपर्छ । चतुस्पदी मुक्तकको महत्वपूर्ण पक्ष हो । यी सबै हिसाबले दिलिपलाई अमर मुक्तक संग्रहले थप परिचित गराएको छ ।
समसामयिकताले छुन्छ उनलाई । मानवतावादी उनी कर्ममा विश्वास राख्ने कुरामा जोड दिन्छन । थोत्रा र युग नसुहाउँदा संस्कृतिको विरुद्ध शंखघोष गर्छन् उनी । सृजनशिलतामा चासो र चिन्ता लिन्छन् उनी । यथार्थवादी उनी मनको हार्दिक भाव पोख्न सीपालु छन् । मीठो भावमा प्रस्तुत हुनसक्नु उनको विशेषता लाग्छ । ब्यङ्गात्मक चेत भएका उनी सामाजिक उत्तरदायित्व र मानविय संवेदनाबाट नभाग्ने कुरा मुक्तकमा समेत छताछुल्ल भएको छ । समाजका हर क्षेत्रलाई आफ्ना मुक्तकका हरफहरुमा समेट्न सफल प्रयास गरेका छन् । मुक्तक आफैंमा पूर्ण हुन्छ यसमा शिर्षकको जरुरी पर्दैन । शब्द र विम्बहरुलाई अत्यन्तै सुन्दर रुपमा चयन गर्न सक्दा मुक्तक राम्रो हुने कुरामा शंका छैन् दिलीपले यस संग्रहमा यस्तै गरेका छन् । आवरणको कलाशिल्प पनि राम्रै छ । काब्यशिल्पका हिसावले सरल,मीठासयुक्त भएको आभास मुक्तक पढ्ने जो कोहीलाई हुन्छ ।
अन्त्यमा,लाग्छ दुनियाँमा कुनैपनि कुरा आफैंमा पूर्ण हुँदैन । यसैले कुनैपनि सज्रकको सृजना आफैंमा पूर्ण नहुनपनि सक्छ दिलीपको सन्दर्भमा पनि त्यहि कुरा लागू हुन्छ । तर पनि मुक्तक अक्करिला लागेका छन् मलाई । यादगर र मन पसंद छन् । त्यसैले यति लेख्ने धृष्टता गरें । नेपाली साहित्यको फूलवारीमा उनले अझै भरपूर मुक्तकरुपी फूलहरु रोप्दै जाउँन शुभकामना । उकmष्भिघघघ२नmबष्।िअयm