रोशी गाउँपालिका जेष्ठ नागरिकको सुख दु:खमा हातेमालो गर्दै आएको छ । जेष्ठ नागरिकले सम्मान पुर्वक बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्न रोशी सरकार सधैं उनिहरुको साथमा रहेको गाउँ पालिकाले गरेको गतिविधिमा पाइएको छ । रोशी गाउँपालिकाले जेष्ठ नागरिकको सम्मानको लागि नि:शुल्क स्वास्थ्य बिमादिखि श्रवण कुमार पुरस्कार सम्म वितरण गर्ने गरेको छ । जेष्ठ नागरिकलाई माया, स्नेह र पालनपोषण गर्ने छोरा,छोरी तथा बुहारीलाई गाउँपालिकाले श्रवण कुमार पुरस्कार वितरण गरेको छ । आइतबार गाउँपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि उक्त पुरस्कार वितरण गरिएको गाउँपालिकाले जनाएको छ । रोशी गाउँपालिकाले श्रवण कुमार पुरस्कार विगत ४ बर्षदेखि निरन्तर रुपमा वितरण गरिरहेको बताएको छ । समाजमा जेष्ठ नागरिकलाई वृद्ध भएकै कारण हेर्ने दृष्टिकोण र गर्ने व्यवहार फरक नहोस्, सबै छोरा बुहारीहरुले आफ्ना बाबु आमाहरुलाई सम्मानपुर्वक व्यवहार गरून् भन्ने उदेश्यले यो पुरस्कारको व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ । आफ्ना बाबुआमा तथा सासु ससुराहरुलाई बृद्धअबस्थामा स्याहारसुसार, औषधिउपचार, राम्रो बोली व्यवहार गर्ने छोराछोरी तथा बुहारीहरुलाई सम्मान गर्ने गरेको हो ।
गाउँपालिका भित्र रहेका १२ वटा वडाहरुबाट वडा समितिले छनोट गरि पठाएका प्रत्येक वडाका २ जनालाई यो पुरस्कार वितरण गर्ने गरेको गाउँपालिकाले जनाइएको छ ।
यस बर्ष पनि गाउँपालिकाले १२ वडाका २४ जनालाई सम्मान गरेको छ । पुरस्कार प्राप्त गर्नेमा वडा नं. १ बाट बाबुलाल भोम्जन र शंकर श्रेष्ठ, वडा नं. २ बाट पुर्ण सिं बल र लाल ब. लामा, वडा नं. ३ बाट देवी माया तामाङ र कुमार तुम्सिङ मगर, वडा नं. ४ बाट कुल बहादुर राना मगर र सुभद्रा मगर, वडा नं. ५ बाट सुरेन्द्र प्रताप अर्याल र कामी सिंह दोर्जे लामा वडा न ६ बाट जीवन कुमार लामा र इन्द्र बहादुर लामालाई पुरस्कार तथा सम्मान वितरण गरिएको छ । त्यस्तैगरी वडा नं. ७ बाट कुमारी तामाङ र श्रीराम प्याकुरेल , वडा नं. ८ बाट कुमारी तामाङ र नाप्ले तामाङ , वडा नं. ९ बाट साहिला तामाङ र साहर पुलामी मगर, वडा नं. १० बाट रबिन्द्र ठकुरी र भिम कृष्ण लामा, वडा नं. ११ बाट नसन्ती कुमारी तामाङ र भिम बहादुर मगर, वडा नं. १२ बाट ङेमा वाङ्जु मुक्तान र पवन ठाडा मगरलाई पुरस्कार तथा सम्मान वितरण गरिएको छ ।
गाउँपालिकाले छनोट भएर आउनुभएका जेष्ठ नागरिकका सन्ततिहरुलाई नगद पाँच हजार रुपैयाँ, स-सम्मान खादा र सम्मान पत्रद्वारा सम्मान गरेको हो । हाल सम्म गाउँपालिकाले करिब १०० जना ब्यक्तिहरुलाई सम्मान गरिसकेको छ ।

पुरस्कार तथा सम्मान प्राप्त गर्नेहरु भने यो हाम्रो कर्तव्य थियो, हाम्रो कर्तव्य र दायित्वलाई अझ हौसला प्रदान गरेकोमा रोशी सरकारलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै गरि जेष्ठ नागरिकलाई राम्रो व्यवहार र पालनपोषण गर्ने भनी एक अर्कामा कुरा साटासाट गर्दै थिए ।

रोशी गाउँपालिकाका उपाध्यक्ष मिम बहादुर वाइवाले बुढ्यौली लागेका आफ्ना आमाबुबा र सासू ससुरालाई कसैले पनि हेलाको दृष्टिले हेर्न नहुने कुरामा जोड दिनु भयो । त्यसैगरी रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले गाउँपालिका भित्र रहेका प्रत्येक छोराछोरी र छोरा बुहारीमा आफ्नो अभिभावकप्रती आफ्नो जिम्मेवारी र आफ्नो दायित्व बोध गराइ नैतिक शिक्षा दिने उद्देश्यले यो पुरस्कारको स्थापना गरिएको बताउनुभयो ।

गाउँपालिकाले अघि सारेको यस किसिमको पुरस्कार वितरणले समाजमा रहेका कोहि पनि जेष्ठ नागरिकले आफू कमजोर भएको र बेसहारा भएको महसुस गर्न नपाउने बुद्धिजीवीहरु बताउँछन् ।
त्यसैगरी रोशी गाउँपालिकाले चालू आर्थिक बर्ष देखि जेष्ठ नागरिकहरुको लागि नि: शुल्क स्वास्थ्य बिमाको नितिगत व्यवस्था गरेको छ । रोशी सरकारको जनप्रतिनिधिहरुको दोस्रो कार्यकालदेखि यो योजना ल्याइ लागू गरेको हो । आर्थिक बर्ष २०७९/८० अर्थात प्रथम बर्षमा रोशी गाउँपालिका भरिका १ हजार ४ सय ४७ जना जेष्ठ नागरिकले निशुल्क स्वास्थ्य बिमाको सेवा लिएको गाउँपालिकाले जानकारी गराएको छ ।
त्यस्तै गाउँपालिकाले सोही कार्यक्रममा उत्कृष्ट मेलमिलाप केन्द्रलाई पनि पुरस्कृत गरेको छ । गाउँपालिकामा रहेको मेलमिलाप केन्द्र मध्य वडा न ४ को मेलमिलाप केन्द्र सबैभन्दा उत्कृष्ट भएको भन्दै उक्त केन्द्रलाई १५ हजार नगद सहिद सम्मानपत्रद्वारा सम्मान गरेको छ । रोशी गाउँपालिका भित्र रेहेको १२ वटा वडामा प्रत्यक वडामा १ वटा मेलमिलाप केन्द्र रहेको छ

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..