
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न सरकारले तयारी थालेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको चाहनाअनुसार जलवायु परिवर्तनका मुद्दामा राष्ट्रिय साझा धारणा निर्माण गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी प्रतिनिधित्व गराउने उद्देश्यले यस्तो तयारी गरिएको हो। यसैक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सत्तारुढ दलभन्दा बाहिर प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा प्रतिनिधिहरूसँग छलफल गरिएको छ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको उपस्थितिमा भएको छलफलमा आगामी नोभेम्बर ९ देखि २० सम्म टर्किएमा आयोजना हुने कोप–३१ सम्मेलनमा नेपालको सहभागिता, सम्मेलनमा उठाउनुपर्ने प्राथमिकताका विषय तथा राष्ट्रिय हितका सवाललाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा विचारविमर्श भएको थियो।


नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले हिमाली क्षेत्रको संरक्षण, जलवायुजन्य विपद्, जलवायु न्याय, ऊर्जा तथा जलवायु वित्तका विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष सशक्त रूपमा उठाउनुपर्नेमा सरकारले जोड दिएको छ।
जलवायु परिवर्तनका साझा चुनौती सामना गर्न राष्ट्रिय सहमति र राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सरकारले कोप–३१ मा नेपालको राष्ट्रिय हित र प्राथमिकतालाई एकीकृत रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।

