धुलिखेल कल्याणकारी सेवा समाजको अध्यक्षमा भगवती तिमल्सिना

काभ्रे, १४ भदौ – धुलिखेल कल्याणकारी सेवा समाजको अध्यक्षमा स्वास्थ्य पत्रकार तथा समाजसेवी भगवती तिमल्सिना निर्विरोध निर्वाचित भएकी छन्। समाजको दशौँ वार्षिकोत्सव तथा छैटौँ साधारण सभाले तिमल्सिनाको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

शनिबार धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयको योगाहलमा सम्पन्न साधारण सभाले समाजको नयाँ नेतृत्व चयन गरेको हो। सभाले उपाध्यक्षमा परशुराम गोदार थापा, सचिवमा खड्गबहादुर (जीवन) श्रेष्ठ र कोषाध्यक्षमा ममता लामालाई निर्विरोध निर्वाचित गरेको छ।

बिज्ञापन

त्यसैगरी सदस्यहरूमा जीतबहादुर केसी, तुलसीराम रिजाल, अमिन सुतार कार्की, अम्बिका हुमागाईं र राजेन्द्र शाह निर्विरोध निर्वाचित भएका छन्। नयाँ कार्यसमितिले समाजका आगामी गतिविधिलाई थप प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

नवनिर्वाचित अध्यक्ष तिमल्सिनाले समाजलाई सबै सदस्यको साझा थलोका रूपमा विकास गर्दै सामाजिक सेवाका क्षेत्रमा संस्थाको भूमिकालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले विगतमा समाजले सञ्चालन गर्दै आएका कार्यक्रम तथा गतिविधिलाई निरन्तरता दिँदै आवश्यकताअनुसार नयाँ कार्यक्रमसमेत अघि बढाउने बताइन्।

संस्थाको उद्देश्य, भावना र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर सबै सदस्यलाई समेट्दै अघि बढ्ने उनको भनाइ छ। समाजमा आबद्ध सदस्यहरूको अनुभव, क्षमता र सक्रियतालाई सामाजिक हितमा परिचालन गर्ने वातावरण निर्माण गरिने पनि उनले बताएकी छन्।

यसैबीच, पछिल्लो समय देशका विभिन्न क्षेत्रमा देखिएका विपद्का घटनाप्रति धुलिखेल कल्याणकारी सेवा समाजले संवेदनशील हुनुपर्नेमा अध्यक्ष तिमल्सिनाले जोड दिएकी छन्। विशेषगरी भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय तथा आर्थिक क्षतिप्रति दुःख व्यक्त गर्दै उनले प्रभावित नागरिकको सहयोगमा सामाजिक संस्थाहरूले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताइन्।

बाढी तथा अन्य विपद्का कारण प्रभावित नागरिकलाई सहयोग पुर्‍याउन समाजका सदस्यहरूले आफ्नो क्षमताअनुसार आर्थिक, सामाजिक तथा भौतिक सहयोग गर्नुपर्नेमा उनले जोड दिइन्। विपद्को समयमा पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नागरिकस्तरबाट हुने सहयोगले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

अध्यक्ष तिमल्सिनाले विपद्को समयमा सामाजिक संघसंस्था र नागरिकको भूमिका अझ महत्वपूर्ण हुने उल्लेख गर्दै सदस्यहरूलाई प्रधानमन्त्री उद्धार कोषमा स्वेच्छिक सहयोग गर्नसमेत आह्वान गरेकी छन्। उनले सामाजिक सेवाको भावनालाई व्यवहारमा उतार्दै आवश्यक परेका नागरिकको सहयोगमा समाजलाई सक्रिय रूपमा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।