महावीर पुनले धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको भ्रमण तथा निरीक्षण गर्नु भएको छ।

धुलिखेल, काभ्रे : विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको भ्रमण तथा निरीक्षण गर्नु भएको छ।

भ्रमणका क्रममा उहाँले विश्वविद्यालयका पदाधिकारीसँग भेटघाट गर्दै अनुसन्धान, विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सरकार र विश्वविद्यालयबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्नु भएको छ।

बिज्ञापन

भेटका क्रममा मन्त्री पुनले अनुसन्धान, नवप्रवर्तन, प्रयोगात्मक विज्ञान र व्यावहारिक समस्या समाधानमा केन्द्रित शिक्षाले काठमाडौं विश्वविद्यालयलाई नेपालका अन्य विश्वविद्यालयभन्दा फरक र अग्रणी बनाएको बताउनु भएको छ। उहाँले विश्वविद्यालयले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा प्रयोगात्मक अनुसन्धानमार्फत राष्ट्रिय विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै यस्ता प्रयासलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनु भएको छ।

विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. राजीव श्रेष्ठले काठमाडौं विश्वविद्यालयले अन्तरविषयगत अनुसन्धान, प्रविधि विकास, नवप्रवर्तन, उद्यमशीलता तथा उद्योगसँगको सहकार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराउनु भएको थियो। अनुसन्धानलाई प्रयोगशालामा सीमित नराखी समाज र राष्ट्रका आवश्यकता समाधान गर्ने व्यावहारिक प्रविधि तथा उद्यममा रूपान्तरण गर्ने लक्ष्यका साथ विश्वविद्यालय अघि बढिरहेको उहाँले बताउनु भयो।

जवाफमा मन्त्री पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय प्रभावकारी अनुसन्धान तथा नवीन परियोजनालाई आवश्यक सहयोग गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भयो। उहाँले लामो छलफलभन्दा ठोस काम, परिणाममुखी सोच र व्यवहारमा लागू हुने नवप्रवर्तन नै देश विकासको आधार हुने उल्लेख गर्दै विश्वविद्यालयलाई व्यावहारिक र प्रभावकारी परियोजना अघि सार्न आग्रह गर्नु भएको छ।

भ्रमणका क्रममा मन्त्री पुनले काठमाडौं विश्वविद्यालय–नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (KU-NTIC), फार्मेसी विभाग, अत्याधुनिक प्रयोगशाला, कोरियन सरकारको करिब सवा एक अर्ब रुपैयाँको सहयोगमा निर्माण गरिएको इनोभेसन सेन्टर, पञ्चकन्या समूहको सहयोगमा स्थापना गरिएको Maker’s Space तथा इनर्जी ल्याब को अवलोकन गर्नु भएको थियो।
फार्मेसी विभागमा उहाँले स्नातकोत्तर तहका विद्यार्थीसँग अन्तरक्रिया गर्दै विज्ञान, अनुसन्धान र प्रविधिको प्रयोगमार्फत समाजका वास्तविक समस्या समाधान गर्ने तथा नयाँ उद्यम र प्रविधि विकासमा लाग्न प्रेरित गर्नु भएको छ।
मन्त्री पुनले नेपालमा अनुसन्धान र नवप्रवर्तन केन्द्रहरूबाट धेरैभन्दा धेरै उद्यमी, प्रविधिविद् र रोजगारी सिर्जना गर्ने जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै विश्वविद्यालय, उद्योग र सरकारबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनु भएको छ।

भ्रमणले विज्ञान, प्रविधि, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताका क्षेत्रमा मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको विश्वविद्यालयले जनाएको छ