पनौतीमा दोस्रो सांस्कृतिक तथा व्यापार महोत्सव वैशाख २४ गतेदेखि जेठ १० गतेसम्म

काभ्रेपलाञ्चोक — पनौती नगरपालिका–७, बसपार्क क्षेत्रमा आगामी वैशाख २४ गतेदेखि जेठ १० गतेसम्म “दोस्रो पनौती सांस्कृतिक तथा व्यापार महोत्सव–२०८३” आयोजना हुने भएको छ।

राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा आयोजित उक्त महोत्सवले स्थानीय संस्कृति, व्यापार र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

बिज्ञापन

महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ भने विभिन्न सांस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता तथा फेसन शो पनि समावेश गरिने आयोजकले जनाएको छ। साथै, औद्योगिक उत्पादन, सूचना तथा विज्ञान प्रविधि, ग्रामीण प्रविधि, अटोमोबाइल, विद्युतिय मेसिन तथा कृषि औजारहरूको प्रदर्शनीले दर्शकलाई नवीनतम प्रविधिसँग परिचित गराउनेछ।

त्यसैगरी मोबाइल तथा इलेक्ट्रोनिक सामग्री, लत्ता–कपडा, भाडाकुँडा लगायतका व्यापारिक स्टलहरू पनि रहनेछन्। महोत्सवमा सांस्कृतिक, व्यापारिक तथा पर्यटकीय प्रदर्शनीसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारहरूको स्वाद लिन पाइनेछ।

बालबालिकाका लागि एसियाकै उत्कृष्ट भनिएको बाल उद्यान, मनोरञ्जनात्मक खेलहरू, रोटेपिङ, ब्रेक डान्स, रेल सेवा जस्ता विविध आकर्षणहरू पनि रहनेछन्।

आयोजक संस्थाका अध्यक्ष नमराज ढुंगानाका अनुसार महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, पर्यटन विकास तथा सांस्कृतिक संरक्षणमा टेवा पुर्‍याउने विश्वास लिइएको छ। साथै, आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै पनौतीको पहिचानलाई अझ सशक्त बनाउने लक्ष्य राखिएको छ।