सिद्धार्थ स्कुल तथा कलेज बनेपाको ४२ ओैं वार्षिकोत्सब 

 

बनेपा । बनेपास्थित सिद्धार्थ स्कुल तथा कलेजको ४२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस– २०८२ भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

बिज्ञापन

विद्यालय तथा कलेज परिसरमा आयोजित कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व, अभिभावक, शिक्षक, विद्यार्थी तथा समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका सभापति विद्यालय तथा कलेजका संस्थापक प्राचार्य एवं सञ्चालक समितिका अध्यक्ष ज्ञानबहादुर के.सी. रहनुभएको थियो। उहाँले संस्थाले चार दशकभन्दा बढी समयदेखि गुणस्तरीय शिक्षा, अनुशासन, संस्कार र व्यवहारिक ज्ञानलाई प्राथमिकतामा राख्दै सक्षम नागरिक निर्माणमा निरन्तर योगदान पुर्‍याउँदै आएको उल्लेख गर्नुभयो। उहाँले बदलिँदो समयअनुसार शिक्षण पद्धतिलाई थप आधुनिक र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि वाग्मती प्रदेशको पुर्व सचिव डा.चन्द्र प्रसाद लुइँटेलले सिद्धार्थ स्कुल तथा कलेजले काभ्रेको शैक्षिक क्षेत्रमा स्थापित गरेको विश्वास र उपलब्धि उल्लेखनीय रहेको बताउँदै निजी शैक्षिक संस्थाहरूले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको धारणा राख्नुभयो। उहाँले विद्यार्थीहरूलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक, प्राविधिक तथा नैतिक शिक्षामा समेत केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी अतिथि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन काभ्रे जिल्ला अध्यक्ष श्याम बहादुर भुजेलले शिक्षा क्षेत्र निरन्तर परिवर्तनशील भएकाले विद्यालयहरूले समयानुकूल नवीन सोच, आधुनिक शिक्षण विधि र प्रतिस्पर्धी वातावरण विकास गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रवाहमा नेतृत्वदायी भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो।

विद्यालयका प्राचार्य गुञ्जप्रसाद लुइँटेलले शुभकामना मन्तव्य दिँदै विद्यालयले हालसम्म हासिल गरेका शैक्षिक उपलब्धिलाई अझ उच्च स्तरमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विद्यालयले आगामी दिनमा शैक्षिक गुणस्तर, अतिरिक्त क्रियाकलाप तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा थप प्रभावकारी योजना अघि बढाइने बताउनु भयो।

कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालका केन्द्रीय तथा जिल्ला तहका पदाधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, सामाजिक व्यक्तित्व तथा सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो। सहभागी वक्ताहरूले सिद्धार्थ स्कुल तथा कलेजले शिक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेका थिए।

वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम, नृत्य, गीत, नाटक तथा सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको प्रतिभा र आत्मविश्वासले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। अभिभावकहरूको उल्लेखनीय सहभागिताले समारोहलाई अझ भव्य बनाएको थियो।
विद्यालयका उप–प्रधानाध्यापक सुधिर न्यौपानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। उहाँको सञ्चालनमा कार्यक्रम व्यवस्थित, आकर्षक र अनुशासित रूपमा सम्पन्न भएको विद्यालयले जनाएको छ।