
धुलिखेल– सञ्जिवनी नमुना माध्यमिक विद्यालयले आफ्नो ७६औँ वार्षिकोत्सव समारोह धुलिखेल नगरपालिका कार्यवाहक प्रमुख निराजन जंगमको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ। समारोहको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेदप्रसाद कोँजु थिए।

कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख जंगमले ऐतिहासिक महत्व बोकेको विद्यालय र नगरपालिकाले अगाडि सारेको शैक्षिक गुणस्तर अभिवृद्धिको अभियानलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

हाल विद्यालयमा जम्मा १,११२ जना विद्यार्थी अध्ययनरत छन्, जसमा बालविकासमा ६१, कक्षा १–५ मा २५१, कक्षा ६–८ मा २४१, कक्षा ९–१० मा २७६ र कक्षा ११–१२ मा २९३ जना विद्यार्थी छन्। तीमध्ये ९० जना दलित, ३० जना अपाङ्गता भएका र २२ जना सिमान्तकृत समुदायका विद्यार्थी छन्। विद्यालयमा ५१४ छात्र र ५९८ छात्रा अध्ययनरत छन् भने शिक्षक र कर्मचारी गरी ७१ जना कार्यरत छन्।


वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले पढाइसँगै सिकेका ज्ञान र सीप प्रदर्शन गरेका थिए। प्रदर्शनीमा स्मार्ट सिटीको अवधारणा, पूर्वाधार, ग्रिन तथा क्लिन इनर्जी, शहरको सरसफाइ, विद्यालय भवन संरचना र हाइड्रोपावरसम्बन्धी सामग्री प्रस्तुत गरिएको थियो।
प्रधानाध्यापक टंक थापाका अनुसार विद्यालयमा ५० रोपनीभन्दा बढी जमिन, ३२ कक्षा कोठा, विज्ञान, जीवन विज्ञान, प्राविधिक तथा व्यवसायिक प्रयोगशाला, कम्प्युटर ल्याब, ई–पुस्तकालय र ICT ल्याब उपलब्ध छन्।
समारोहमा वडा नं. ७ का अध्यक्ष रोमीप्रसाद ब्याञ्जु, शिक्षक शंकर शर्मा, पूर्व प्रधानाध्यापकहरू, शिक्षक, अभिभावक संघका पदाधिकारी, पूर्व विद्यार्थी, चन्दादाता र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए भने विद्यालयको लेखापरीक्षण श्रीओम ब्याञ्जुले प्रस्तुत गरेका थिए।


