
काभ्रेपलाञ्चोक । काभ्रे क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार बसुन्धरा हुमागाई न्याय, समानता र परिवर्तनमुखी राजनीतिका दृढ पक्षधर नेताका रूपमा परिचित हुनुहुन्छ।

समाजवादी मूल्य–मान्यतामार्फत् मुलुकलाई समृद्धिको दिशामा लैजान सकिने दृढ विश्वास उहाँको राजनीतिक यात्राको मूल आधार हो। वि.सं. २०२७ साल मंसिर २८ गते काभ्रे जिल्लाको तत्कालीन भुमिडाँडा गाविसमा जन्मनु भएका हुमागाई बुवा नारायण हुमागाई र आमा पुष्पमाया हुमागाईको प्रेरणाबाट सानैदेखि सामाजिक न्याय र परिवर्तनकारी चेतनामा हुर्कनु भएको हो। युवावस्थादेखि नै जनसेवा र सामाजिक रूपान्तरणमा सक्रिय उहाँले २६ वर्षकै उमेरमा गाविस अध्यक्ष बनेर नेतृत्व यात्राको सुरुवात गर्नुभयो।
सामाजिक क्रियाकलाप, समानतामूलक समाज निर्माण र जनमुखी विकासका अभियानमा निरन्तर सक्रिय रहनु भएका हुमागाई केही समय शिक्षण पेशामा पनि संलग्न रहनुभयो। पछिल्लो समय उहाँ बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रीका रूपमा सफल कार्यसम्पादन गर्ने नेतामध्ये एकका रूपमा चिनिनु हुन्छ।

१३ महिनाको मन्त्री कार्यकालमा उहाँले कृषि तथा पशुपन्छी क्षेत्रलाई संस्थागत र दिगो बनाउनेतर्फ उल्लेखनीय काम गर्नुभयो। कृषि तथा पशुपन्छीसम्बन्धी कार्यविधि ८ बाट बढाएर १४ पुर्याइनुका साथै समग्र बागमती प्रदेशका लागि ५५ बुँदे कृषि विकास मार्गचित्र तयार गरिएको थियो। कृषि ऐन र पोलिसी विकास बोर्ड गठनको प्रक्रिया अन्तिम चरणमा पुगे पनि २०७९ सालको नवनिर्वाचित संसदका कारण ती ऐनहरू कार्यान्वयनमा आउन नसकेको उहाँ बताउनुहुन्छ।


त्यसैगरी रासायनिक मल उत्पादन कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन, किसानका लागि घुम्ती कोषमार्फत सहुलियत ऋण, उत्पादनका आधारमा अनुदान तथा क्षतिपूर्ति व्यवस्था, कृषि बीमा कार्यक्रम र दुग्ध उत्पादक किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिने कार्यक्रमको थालनी पनि उहाँकै कार्यकालमा भएको थियो। भौतिक पूर्वाधार विकासतर्फ जिल्लाभित्र ८ देखि १० वटा ठूला सडक तथा पक्की पुल निर्माण हुनुका साथै सिंचाइ र खानेपानीका दर्जनौँ योजना कार्यान्वयन भएका छन्। काभ्रेका १३ वटै पालिकामा डिपिआर तयार भई अर्बौँ रुपैयाँ बराबरका विकास योजना कार्यान्वयनको चरणमा रहेको उहाँको भनाइ छ।
उत्पादनको गुणस्तर सुधार र प्रभावकारी बजारीकरणमा जोड दिन सके स्वदेशमै दश हजारभन्दा बढी युवालाई रोजगारी दिन सकिने उहाँको दाबी छ। काभ्रेको विकासमा देखिएका चुनौतीबारे बोल्दै हुमागाईले संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वयको अभावले योजनाबद्ध विकास प्रभावित भएको उल्लेख गर्नुभयो। कार्यविभाजन स्पष्ट नहुँदा एउटै योजनामा दोहोरो खर्च हुने अवस्थाप्रति सचेत गराउँदै उहाँले तीनै तहका सरकारबीच सहकार्य, पारदर्शिता र जवाफदेहितालाई अपरिहार्य बताउनुभयो। समग्र मुलुकको रूपान्तरण समाजवादी व्यवस्थातर्फको यात्राबिना सम्भव नभएको निष्कर्ष निकाल्दै उहाँ भन्नुहुन्छ, “जबसम्म समाजवादको तहसम्म पुगिँदैन, तबसम्म न्याय, समानता र समृद्धिको सपना पूरा हुँदैन। समाजवादी यात्रामार्फत् नै देशलाई दिगो विकास र रूपान्तरणको बाटोमा लैजान सकिन्छ।”
हाल बसुन्धरा हुमागाई काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ।


