
पनौती । कुशादेवीस्थित श्री कुशादेवी माध्यमिक विद्यालयको ६६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण थापाको सभाध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी रहनुभएको थियो भने विशिष्ट अतिथिहरूमा पनौती नगरपालिकाकी उप–प्रमुख गीता बन्जारा, पूर्व नगर प्रमुख भीम न्यौपाने, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. निलम कुमार शर्मा, कुशादेवी क्याम्पसका संस्थापक प्रमुख रामप्रसाद अधिकारी लगायत रहनुभएको थियो।

यसैगरी अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष तथा समाजसेवी क्याप्टेन रामेश्वर थापा (धर्मपत्नीसहित), शिक्षा, युवा तथा खेलकुद शाखाका स्रोत व्यक्ति महेश्वर जंगम, पनौती–२ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारी, पनौती–३ का वडा अध्यक्ष विष्णु प्रसाद सापकोटा, कुशादेवी क्याम्पस प्रमुख शशिकुमार बोलखे, नगर कार्यपालिका सदस्यहरू, पूर्व प्रधानाध्यापक तथा शिक्षकहरू, दाताहरू, समाजसेवी, पत्रकार तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


कार्यक्रमको सुरुआत राष्ट्रगान तथा प्रमुख अतिथिबाट दीप प्रज्वलन गरी गरिएको थियो। त्यसपछि कक्षा ६ की छात्रा रक्षा हुमागाईंले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो। शिक्षकहरूको स्वागत नृत्य तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक नृत्य तथा कार्यक्रमहरूले समारोहलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक माधव प्रसाद दाहालले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। विद्यालयको शैक्षिक, भौतिक तथा सह–पाठ्यक्रम गतिविधिमा पुर्याएको योगदानको कदर गर्दै विभिन्न अक्षयकोष दाता, सहयोगी र विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले आ–आफ्नो मन्तव्य राख्दै विद्यालयको शैक्षिक उन्नति, अनुशासन, संस्कार तथा समुदायसँगको सहकार्यको प्रशंसा गर्दै आगामी दिनमा गुणस्तरीय र व्यवहारिक शिक्षामा थप जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण थापाले उपस्थित सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा सहयोगीप्रति आभार व्यक्त गर्दै भन्नुभयो,
“विद्यालयको समग्र विकासका लागि सबै पक्षको निरन्तर साथ, सहयोग र सुझाव अपरिहार्य छ। आगामी दिनमा शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार सुदृढीकरण र विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर विद्यालयलाई नमूना शैक्षिक संस्थाका रूपमा अगाडि बढाइनेछ।”



