३१ औं स्थापना दिवसमा मनकामना साकोसद्वारा पुस्तकालयको शुरुवात

 

काभ्रे । बनेपा नगरपालिका–५ मा मुख्य कार्यालय रहेको मनकामना बचत तथा ऋण सहकारी संस्था (साकोस) ले आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा पुस्तकालय सञ्चालनमा ल्याएको छ।

बिज्ञापन

बिहीबार आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा जनमत प्रकाशनका अध्यक्ष, वरिष्ठ साहित्यकार मोहन दुवालले पुस्तकालयको उद्घाटन गर्दै साहित्य र संस्कृतिको संवर्द्धनमा पुस्तकालयको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे। पठनसंस्कृति कमजोर बन्दै गएको वर्तमान समयमा सहकारीले पुस्तकालय स्थापना गरेर प्रशंसनीय कार्य गरेको उनले बताए। भविष्यमा पुस्तकालयलाई थप विस्तार गरी छुट्टै भवन बनाएर सञ्चालन गर्न सुझाव दिंदै उनले व्यक्तिगत सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

विशिष्ट अतिथि शब्दयात्रा प्रकाशनका अध्यक्ष एवं वरिष्ठ साहित्यकार हरि मञ्जुश्रीले १४ वर्षअघि स्थापना गरेको शब्दयात्रा पुस्तकालयको अनुभव सुनाउँदै मनकामना साकोसले खोलेको पुस्तकालयको भविष्य उज्ज्वल देखिने धारणा राखे। उनले पुस्तकालयलाई १०० थान पुस्तक हस्तान्तरण गरेको तथा आगामी दिनमा पनि सहयोग निरन्तर रहने बताए। युवा पुस्ता पुस्तकबाट टाढिदै गएकोप्रति उनले चिन्ता पनि व्यक्त गरे।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष गोपालप्रसाद घिमिरेले सहकारीको मूल उद्देश्य आर्थिक गतिविधि भए पनि ज्ञान अभिवृद्धि गर्ने कामलाई संस्थाले समान रूपले अग्रसरता दिएको बताए। पैसा भन्दा ठूलो शक्ति ज्ञान भएकाले पुस्तकालयले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास उनले प्रकट गरे। पुस्तकालय स्थापना गर्ने योजना लामो समयदेखि रहेको उल्लेख गर्दै घिमिरेले सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरे। इच्छुक जो कोहीले आफ्ना पुस्तक दान गरेर पुस्तकालय विस्तारमा हातेमालो गर्न सक्ने जानकारी पनि उनले दिए।

संस्थाका सल्लाहकार बालकृष्ण दाहालले काभ्रेका सहकारीमध्ये मनकामना साकोसले पहिलो पटक पुस्तकालय सञ्चालन गरेर उदाहरणीय कदम चालेको भन्दै सफलताको शुभकामना दिए। उपाध्यक्ष बिदुरप्रसाद घिमिरेले पुस्तकालय भविष्यकालीन पुस्तामा पठन संस्कृतिको विकासका लागि लक्षित गरिएको बताए।

कार्यक्रममा लेखक उद्बव नेपाल, बनेपा–५ का वडाध्यक्ष बलराम अधिकारी, प्रमुख कार्यकारी अधिकृत सिताराम तिमल्सिना, वरिष्ठ प्रबन्धक सुजन जंगम, जिल्ला सहकारी संघ काभ्रेका कोषाध्यक्ष अर्जुन सापकोटा तथा संचालक समिति, कर्मचारीलगायतको उपस्थिति थियो। कार्यक्रम अध्यक्ष गोपालप्रसाद घिमिरेको सभापतित्व र सचिव नवराज आचार्यको सञ्चालनमा सम्पन्न भयो।