“विस्तारित सेवा क्षेत्र र मजबुत वित्तीय सूचकसहित सामुदायिक साकोसले मनायो ३१ औं वार्षिक सभा”

 

पनौती । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पनौतीले आफ्नो ३१ औं वार्षिक साधारण सभा कात्तिक २८ र २९ गते एकाइगत रूपमा सम्पन्न गरेको छ। सहकारी विभागले जारी गरेको साधारण सभा सञ्चालन निर्देशिका २०७६ तथा सहकारी नियमन प्राधिकरणको बचत तथा ऋणमुखी सहकारीको साधारण सभा सम्बन्धी निर्देशन को पूर्ण पालना गर्दै दुई दिनमा सात वटै एकाइमा सभा सम्पन्न गरिएको हो।

बिज्ञापन

निर्धारित कार्यसूचीअनुसार पहिलो दिन बनेपा, काठमाडौं, पाँचखाल र भकुन्डे एकाइमा तथा दोस्रो दिन पनौती, कुशादेवी र ढुंखर्क एकाइमा गरी कुल ६५.८३ प्रतिशत सदस्यहरूको उपस्थिति रहेको सहकारीले जनाएको छ।

पनौती एकाइ अन्तर्गत मुख्य कार्यालय, पनौती–४ टौखालमा सम्पन्न सभाको अध्यक्षता संस्थाका अध्यक्ष मुकुन्द शर्माले गरेका थिए। कार्यक्रममा संस्थापक अध्यक्ष तथा बागमती प्रदेश सहकारी संघका कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ, पूर्व अध्यक्ष तथा जिल्ला सहकारी संघ काभ्रेका सचिव प्रकाश बन्जारा, निर्वाचन उपसमिति संयोजक इन्द्रप्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो। संस्थापक अध्यक्ष शम्भुलाल श्रेष्ठ र संस्थापक सदस्य सुरथ थापाले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रममा शुभारम्भ गरेका थिए।

सहकारीमा रिक्त रहेको लेखा सुपरिवेक्षण समिति सदस्य (महिला) पदका लागि सम्पन्न उपनिर्वाचनमा पनौती–६ की रन्जु सापकोटा सर्वसम्मत रूपमा निर्वाचित भएकी छन्।

६ जिल्लामा (काभ्रे, भक्तपुर, ललितपुर, काठमाडौं, मकवानपुर र सिन्धुली) सेवा विस्तार गरिरहेको संस्थाले आर्थिक वर्ष २०८१/०८२ सम्ममा उल्लेख्य वित्तीय उपलब्धि हासिल गरेको छ। सो अवधिसम्म संस्थामा ६० हजार ८६६ जना शेयर सदस्य रहेको छ।

सहकारीका वित्तीय सूचकहरू यसप्रकार छन्–

कुल पूँजी: रु. ५,९८,३०,९३,९३१

जगेडा कोष: रु. ४६,५५,८३,९८२

शेयर पूँजी: रु. ४९,३८,०८,६००

बचत संकलन: रु. ४,२७,९८,७४,६९३

लगानी गरिएको ऋण: रु. ४,३६,३०,०८,९८६

वार्षिक नाफा (२०८१/८२): रु. ४,०३,१२,१५४

प्रति शेयर आम्दानी (EPS): रु. ७.९२

वित्तीय रूपमा स्थिर र विस्तारशील बनेको सहकारीले आगामी दिनमा सेवा विस्तार, डिजिटलाइजेशन तथा सदस्य हितका कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।