नेकपा एमाले बनेपा नगर कमिटीको बैठक सम्पन्न, १४ वटै वडामा कार्यक्रम गर्ने निर्णय

 

बनेपा — नेकपा एमाले बनेपा नगर कमिटीको नियमित बैठक सम्पन्न भएको छ। बैठकका प्रमुख अतिथि प्रदेश कमिटी सदस्य तथा एमाले बनेपा नगर इन्चार्ज हरिशरण दाहाल रहे भने बैठकको सभाध्यक्षता नगर कमिटीका अध्यक्ष नवराज मानन्धरले गरेका थिए।

बिज्ञापन

कार्यक्रममा नेकपा एमाले जिल्ला उप–सचिव रत्नकुश रंजितकार, बनेपा नगरपालिका उप–प्रमुख बिमला सापकोटा दाहालसहित जिल्ला तथा नगर कमिटीका पदाधिकारीहरु, सदस्य तथा १४ वटै वडा कमिटीका अध्यक्षहरूको उल्लेखनीय उपस्थिति थियो।

बैठकले केन्द्रीय सर्कुलरअनुसार कार्तिक २२ गते बनेपा नगरका सबै १४ वटै वडामा वडा सभा कार्यक्रम भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ। यस्तै आगामी कार्तिक २५ गते बनेपा नगर स्तरीय बृहत् जनप्रदर्शन तथा सभाको आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ।

बैठकमा वडा कमिटीका अध्यक्षहरूले आफ्ना-आफ्ना वडामा सञ्चालित गतिविधि, संगठन विस्तार तथा जनतासँगको सम्बन्धबारे विस्तृत रिपोर्ट पेस गरेका थिए। सबै वडामा नेकपा एमाले संगठन सुदृढ र प्रभावशाली बनेको बैठकले निष्कर्ष निकालेको छ।

त्यस क्रममा वडा कमिटी अध्यक्षहरूले संगठन सुदृढीकरणमा नगर कमिटी अध्यक्ष नवराज मानन्धरको नेतृत्व, सक्रियता र समन्वयको प्रशंसा गरेका थिए। पार्टीले चुनौतीपूर्ण परिस्थितिको सामना गर्दा नगर कमिटी सदैव वडाको साथमा रहेको स्मरण गर्दै निरन्तर सहकार्यका लागि प्रतिवद्धता व्यक्त गरिएको थियो।