बेथानचोक अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि भुग्देउलाई

बेथानचोक । सातौँ वडास्तरीय बेथानचोक अध्यक्ष कप फुटबल प्रतियोगिता वडा नं. ६ भुग्देउको महांकाल युवा क्लबले जितेको छ । मंगलबार भएको फाइनलमा उसले वडा नं. ४ को भूमिमाता युवा क्लबलाई पछि पारेको हो । निर्धारित समयमा दुवै टिम गोलरहित भएपछि पेनाल्टी सुट आउटमा ३ का विरुद्ध ४ गोलले महांकालले बाजी मारेको हो ।

वडा नं. ४ को तिप्चोक खेल मैदानमा असोज ३० गतेदेखि कात्तिक ४ गतेसम्म सञ्चालित सेभेन ए साइड प्रतियोगितामा बेथानचोक गाउँपालिकाभित्रका १५ वटा क्लबहरु आमनेसामने भएका थिए ।

बिज्ञापन

बेथानचोक गाउँपालिका र भूमिमाता युवाक्लबद्वारा आयोजित प्रतियोगितमा जितसँगै महांकाल युवा क्लबले रु ६० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र हात परेको छ । उपविजेता आयोजक क्लब भूमिमाताले नगद रु ३० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र हात परेको छ ।

 

विजेता र उपविजेतालाई वडा नं. ४ का अध्यक्ष कृष्णबहादुर लामाले पुरस्कार वितरण गर्नु भएको थियो ।
प्रतियोगितामा उत्कृष्ट गोल किपर महांकाल युवा क्लब वडा नं. ६ का मनोज तामाङ, उत्कृष्ट खेलाडी वडा नं. ४ भूमिमाता युवा क्लबका धिरत तामाङ, उत्कृष्ट डिफेण्डर महांकाल कै निकेश तामाङ र सर्वाधिक गोलकर्ता ढुंखर्क फुटबल क्लबका मिलन तामाङ भएको आयोजक क्लबका अध्यक्ष माइते तामाङले जानकारी दिनुभयो ।

कार्यक्रममा बधाई व्यक्त गर्दै वडा अध्यक्ष लामाले अघिल्लो वर्ष र यस वर्षको विपद्का बावजुद पनि गाउँपालिकाले विकास निर्माणका साथै विविध गतिविधिलाई निरन्तरता दिँदै आएको बताउनु भयो । उहाँले खेलकुदले प्रतिस्पर्धात्मक भावना विकास गराई प्रतिभाको जन्म गराउने हँुदा यस प्रकारका प्रतियोगिता वर्षेनी गर्दै आइरहेको जानकारी दिनुभयो ।