

सिन्धुपाल्चोक जिल्लाको सुनकोशी–६ मा सरस्वती पूजाको पावन दिन जन्मिएकी अम्बिका तिमल्सिना अहिलेको दिनमा नेपालभरका हजारौं महिलाहरूका लागि प्रेरणाको स्रोत बनेकी छन्। जीवनका प्रत्येक मोडमा उनले देखाएको साहस, समर्पण र नेतृत्व क्षमताको कदर गर्दै उनलाई “राष्ट्रिय रत्न सम्मान तथा अवार्ड – २०८२” अन्तर्गत “उत्कृष्ट प्रेरणादायी व्यक्तित्व सम्मान” प्रदान गरिएको हो।


उक्त सम्मान कार्यक्रममा प्रतिनिधि सभा सदस्य छिरिङ ल्हामु लामाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रम समारी इन्टरनेशनल इभेन्ट को आयोजनामा भक्तपुरको बोडे स्थित कृषि विकास बैंकको सभा हलमा सम्पन्न भएको थियो।



अम्बिकाको जीवनसंग्राम कुनै सामान्य कथा होइन। सानै उमेरमा बुबाको असामयिक निधनले उनलाई पीडाको घेरामा ल्यायो। तर उनले ती परिस्थितिलाई पछाडि तान्ने शक्ति होइन, अघि बढाउने प्रेरणा बनाइन्। गाउँकै विद्यालयबाट SLC उत्तीर्ण गरेकी उनले जीवनका चुनौतीहरूसँग जुध्दै व्यवस्थापनमा स्नातकोत्तर (MBA) अध्ययन पूरा गरिन्।

व्यवसायिक क्षेत्रमा पनि उतिकै सफल — उनले जीवन बीमा क्षेत्रमा SuryaJyoti Life Insurance मा शाखा प्रमुख, क्षेत्रीय प्रबन्धक लगायत विभिन्न नेतृत्वदायी भूमिका सम्हाल्दै Nationwide Top Area Sales Manager को प्रतिष्ठित उपाधि प्राप्त गरेकी छिन्।
तर अम्बिका तिमल्सिना केवल एक सफल कर्मचारी होइनन्, उनी एक सशक्त सामाजिक अभियन्ता पनि हुन्। २३ वर्षको उमेरदेखि नै उनी लायन्स क्लब, रोटरी क्लब, सहकारी संस्था, महिला सशक्तिकरण अभियान, खेलकुद तथा योगका क्षेत्रमा सक्रिय छिन्। COVID महामारीको बेला उनले आफ्नै खर्चमा मास्क, औषधि, खाद्यान्न वितरण गर्दै सेवा भावनाको सशक्त उदाहरण प्रस्तुत गरिन्।
अझ उल्लेखनीय कुरा के भने, उनी हाल ६ जना असहाय बालबालिकाहरूकी अभिभावक बनेकी छन् — उनीहरूको शिक्षादेखि जीवन निर्वाहसम्मको सम्पूर्ण जिम्मेवारी निर्वाह गरिरहेकी छन्। अम्बिकाको भनाइमा, “कमाउनेभन्दा धेरै खुशी अरूको भविष्य बनाउनेमा हुन्छ।”
सन् २०१७ मा उनले Mrs. Himalayan Nepal को उपाधि जितेकी थिइन् — जसले उनको आत्मबल, आत्मविश्वास र आत्मपहिचानको उज्यालो रूप सार्वजनिक गर्यो। सौन्दर्य मात्र होइन, व्यक्तित्व, दृष्टिकोण र उद्देश्यको उपमा पनि उनी हुन्।
अहिले उनी एक प्रेरणादायी नेतृत्वकर्ता, समाजसेवी, कुशल आमासँगै उद्यमशील महिलाको प्रतीक बनेकी छन्। उनी सधैँ यथार्थमा विश्वास गर्छिन् — न त बकम्फुसे प्रशंसामा रमाउँछिन्, न त चाप्लुसीको घेरामा पर्छिन्। सत्य, संघर्ष र सम्भावनामा आधारित अम्बिकाको जीवनले एउटा सन्देश दिन्छ —
“सकिन्छ भन्ने आत्मविश्वासले गर्दा नै असम्भवलाई पनि सम्भव बनाइन्छ।”
उनको समर्पण, संघर्ष र सामाजिक योगदानलाई उजागर गर्न प्रदान गरिएको “उत्कृष्ट प्रेरणादायी व्यक्तित्व सम्मान – २०८२” केवल एउटा पुरस्कार होइन, नेपाली समाजमा परिवर्तन सम्भव छ भन्ने एक उज्यालो सन्देश पनि हो।