धुलिखेल । राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करूणा’ विमर्श कार्यक्रम काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलबाट सुरु भएको छ । शनिबार धुलिखेलबाट सुरु भएको कार्यक्रम देशका सातै प्रदेशमा हुने बताइएको छ । पुस्तक विमर्श कार्यक्रम घट्दो पठन संस्कृतिलाई बढाउन प्रभावकारी हुने अपेक्षा गरिएको छ । मृत्युको मुखबाट संघर्ष गरि प्रथम महिला बन्न सम्मको राधिका शाक्यको संघर्ष र भोगाईको साक्षी बन्दै जीवनलाई बुझ्न र मानवीय करूणाको भाव जगाउन पुस्तक सफल रहेको पाठकहरूले प्रतिक्रिया दिएका छन् । देशको प्रथम महिला भइकन पनि शालीन र इमान्दार व्यक्तित्वको छवि बनाउनुभएको प्रधानमन्त्री पत्नी शाक्यले जीवनका भोगाई र उतारचढावका श्रृङखलाहरूलाई शब्द, भावना, इमान्दारिता र कलामा उनेर प्रस्तुत गर्नुभएको छ ।

विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै प्रथम महिला शाक्यले सामाजिक सञ्जालले समाजलाई नकारात्मकतातिर डोहोर्याइरहेको बताउनुभयो । केपी ओलीलाई गाली गर्नमै त्यसको प्रयोग भएको दुखेसो व्यक्त गर्नुभयो । पञ्चायतकालीन दमन सहेर अगाडि बढिरहेको अवस्था स्मरण गर्दै उहाँले अहिलेको स्वतन्त्र वातावरणमा गरिएको नकारात्मक टिप्पणीले व्यक्तिगत रुपमा असर पार्न नसक्ने बताउनुभयो । केपी ओलीलाई गाली गर्न पाएँ भनेर खुसी हुनेहरूकै भविष्य अन्धकार हुने टिप्पणी शाक्यको छ । ‘उहाँहरूले आफ्नो गोडामा आफैले बन्चरो हान्दै हुनुहुन्छ’, आफ्ना सन्तानका भविष्य अन्धकार बनाउँदै हुनुहुन्छ भन्ने मेरो निष्कर्ष छ, शाक्यले भन्नुभयो । सामाजिक सञ्जालका नकारात्मक टिप्पणीले आफूहरूलाई तनाव नहुने बताउनुभयो । आफूले बिराएको छैन, नराम्रो काम गरेको छैन, देश माथि घात गरेको छैन भने आफूलाई असर नपार्ने प्रष्ट पार्नुभयो ।
शाक्यको जीवनमा आमा र बुबाको कति ठुलो सम्बन्ध छ भन्ने विषयलाई पुस्तकले बोलेको छ । आफ्नो जीवनमा महत्वपूर्ण दुई पुरुषहरू बा र केपी सर भनेर उहाँले पुस्तकमा चर्चा गर्नुभएको छ । बा जसले जन्माउनुभयो । भयो केपी सर जोसँग आफू अन्मिएर गएँ भन्ने प्रसंगलाई उहाँले पुस्तकमा सुन्दर एवं कलात्मक ढंगले प्रस्तुत गर्नुभएको छ ।

कार्यक्रममा धुलिखेल नगरपालिका मेयर अशोक कुमार ब्याञ्जुले स्वागत गर्दै पुस्तक बिमर्श कार्यक्रम धुलिखेल नगरपालिकाबाट सुरु गर्नुभएकोमा लेखिका एवं प्रकाशकलाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, नबिल बैंकका कामु सिइओ मनोज ज्ञवाली, पाणिनी पुस्तक प्रकाशन गृहका अध्यक्ष रामबाबु नेपालले पुस्तकको विषयमा जीवन र जगत्का विषयहरू समेटिएको र त्यसमा करूणा पात्र स्वयं लेखिका शाक्य भएको बताएका छन् । कार्यक्रमको सञ्चालन पाणिनी प्रकाशनका शिवशक्ति आचार्यले गर्नुभएको थियो ।