दिलिप शर्मा, अध्यक्ष, जिल्ला सहकारी संघ लि.काभ्रे
अन्र्तराष्ट्रिय सहकारी मूल्य, मान्यता, सिद्धान्त अनि दर्शन अनुरुप सहकारी संस्था सञ्चालन भए वा भएनन भन्ने बिषय अध्ययन अनुसन्धानको बिषय होला । हाम्रो भूमिका, उत्तरदायित्व अनि जिम्मेवारीहरु के हुन भन्ने बोध हामीमा भयो कि भएन भन्ने बिषय आफै स्वयंले महसुश गर्ने बिषय हुन । मैले जुन निकाय वा तत् तत् भूमिकामा जिम्मेवारीहरु भूमिका निर्बाह गर्दैछु सो बिषयमा म जिम्मेवारी छु वा छैन के मेरो भूमिका पुरा भयो त भन्ने बिषय पनि हामीले विश्लेषण गर्यौं कि गरेनौ ? अव यस्ता बिषयमा गम्भिर भएर सोच्ने बेला भएको छ । हाल सहकारी क्षेत्रमा देखिएका विविध खालका समस्याहरुमा हामीले पदीय मर्यादा भित्र रहि के कस्तो कार्यहरु अगाडि बढायौं ? यसका निराकरणका लागि हाम्रो प्रयास के कस्तो रह्यो ? भन्ने बिषय सामान्य अवस्थामा पनि आम शेयर सदस्य तथा अभियानका बिचमा मूल्यांकन, छलफल र बहस हुन थालेको छ । पदीय हैसियत अनुरुप सहकारी क्षेत्रमा बस्ने, सिमित स्वार्थहरु पुरा गर्ने, संस्थागत लक्ष्य सहितको मानसिकता अनि उद्देश्य लिएर सहकारी क्षेत्रमा प्रवेश गर्ने होडबाजिका कारण केहि समस्याहरु देखिएका हुन कि भन्ने देखिन्छ । प्राइभेट कम्पनी जस्तो गर्दै मज्जाले आम्दानीका श्रोतहरु व्यवस्थापन गर्नका लागि सहकारी क्षेत्र रोजेको बुझाइले पनि हाल केहि समस्याहरु देखिएका पक्कै छन । यो क्षेत्रमा प्रवेश गर्नुभन्दा पहिला सिंगो सहकारी क्षेत्रको बारेमा नेतृत्वकर्ताको काम कर्तब्य अनि अधिकार के के हुन ? जिम्मेवारी के हो ? भन्ने महसुश गर्न नपर्ने अवस्थाको बुझाइका कारण सहकारी क्षेत्रको समस्या बढ्दै गएको हुनसक्छ । साँच्चै सहकारीका मूल्य, मान्यता, दर्शन, सिद्धान्त बुझेर मात्र हामीले सहकारी क्षेत्रलाई अंगालेका हौं त भन्ने बिषयहरु चासोका साथ हेरिनुपर्दछ । सामान्य रुपमा सहकारी क्षेत्र र यसले निर्दिष्ट गरेका बिषयहरुमा हामीले केही बुझ्दैनौ र बुझेनौं जसका कारण संस्था चलाउन समस्या भयो र अहिले यो अवस्थामा पुग्न बाध्य भयौं । हिजो नेतृत्वमा जान इच्छा राखिरहँदा कसैले पनि भनेन कि नेतृत्वमा पुग्न यो यो बिषयहरुको ज्ञान र आधार हुन आवश्यक हुन्छ भनेर त्यसैले हामी हौसियौं अनि हानथापका बीच उक्त क्षेत्र र पद स्विकार्याैं तर अहिले धेरै सहकारी संस्थाहरुका नेतृत्व बर्गहरुका कुरा सुन्न पाईन्छ वा बाहिर आइरहेको छ कि बेकार नेतृत्व सम्हालिएछ । समस्या आएपछि यी बिषयहरुको ज्ञान हुन थाल्यो वा महसुश गर्न थालियो । शेयर सदस्यहरुको आर्थिक सामाजिक तथा साँस्कृतिक पक्षहरुसँगै जीविकोपार्जन, आय आर्जन र रोजगारीका लागि हामीले के योजना बनायौं ? त्यसका कार्यान्वयनका लागि के कस्तो पहल गर्यौं ? वा हामीलाई उक्त क्षेत्रमा काम गर्न पर्दछ भनेर ज्ञान थियो कि थिएन भन्ने सम्मको थियो कि थिएन ? हो यहि थियो सहकारीको नेतृत्वकर्तामा हुनुपर्ने पहिलो ज्ञान ।
बिशेष गरी ग्रामीण समुदायमा रहेका आम समुदायहरुलाई सहकारीको छातामूनी गोलबन्द गर्दै दैनिक जीवनमा आइपर्ने विविध खालका समस्याहरु समाधान गर्न सहकारी क्षेत्रको आवश्यकता पर्दछ भन्ने सम्मको बुझाइमा स्पष्टता भएको भए आज जुन जुन सहकारीमा समस्या आए उक्त दिन देख्न र भोग्न समेत पर्ने अवस्था आउने थिएन । समाज प्रतिको उत्तरदायित्व, भूमिका र जिम्मेवारीहरु मेरा लागि सर्वोपरी हुन भन्ने बुझाई हाम्रो पहिलो शर्त हुनुपर्दछ भन्ने राम्रो ज्ञान हामीमा हुनु पर्दछ । नेतृत्व जसले पनि गर्दछ जसरी हुन्छ भन्ने हामीमा काम गराई अनि बुझाईका कारण पनि अहिले केहि समस्याहरु देखिएका भने पक्कै हो । सहकारी संस्थाहरु नीति, विधि सहित निर्दिष्ट कानून अनुरुप चल्नुपर्दछ । सहकारी मैत्री ऐन, नियमावली तथा मापदण्डहरु यसका आधार हुन भन्नेसम्मको बिषयहरुको बुझाइ हामीमा कमी रहेको हो की भन्ने कैले बुझेनौं र सोही अनुरुप काम गर्न समेत सकिएन ।
हाल सहकारी क्षेत्रमा जे जस्तो समस्याहरु देखिएका छन् उक्त समस्याहरुसँग जुधेर समाधान गर्नका लागि सबै सञ्चालक समिति र सिंगो टिम एकजुट भइ लाग्नु जरुरी देखिन्छ । संस्थामा एक अर्कासँगको अनविस्वासहरु हुन सक्छन्, असमझदारीहरु रहन सक्छन यी र यस्ता बिषयहरुसँग जुध्दै गरौंला, छलफल गरौंला, बहस गरौला, पैरवी गरौंला अनि आत्म आलोचना पनि गरौंला तर हाल सहकारी क्ष्ोत्रमा देखिएका यावत बिषयहरु छन सबै मिलेर हल गरौं समस्या समाधान गर्न लागौं हामी आफ्नो पहल आफैबाट गरौं समाधानको बाटो खोजौं । त्यसैले अहिलेको अवस्थामा सहकारी अभियानकर्मीहरुको पहिलो काम भनेको आफुले नेतृत्व गरेको सहकारी संस्थाहरुमा हिजो देखि गर्दै आइरहेका कार्यहरुको पुनर विश्लेषण गर्दै कमिकमजोरी भएका बिषयहरुमा आत्म आलोचना सहित सुधार गर्दै सहकारीका लागि समय व्यवस्थापन गर्ने, शेयर सदस्यहरुसँगको सम्वन्ध सुमधुर बनाउने, सदस्यहरुको अवस्था विश्लेषण गर्ने, उनीहरुकै घर, टोलहरुमा पुग्ने, संस्थाको अवस्था बारेमा जानकारी गराउने, आफ्ना पालिकाहरुमा अन्य समुदायस्तरमा चलेका सहकारी संस्थाहरुका असल अभ्यासहरुलाई आफ्ना संस्थाहरुमा प्रयोग गर्ने, जिल्लास्तरका अन्य संस्थाहरुमा जाने सिकाइ आदान प्रदान गर्ने, शेयर सदस्यहरुसँग सहकारीका बारेमा बुझाउने, बुझ्ने, आफ्नोपनको आभाष दिने, सहकारी दुःख सुखको साथी हो भन्ने बिषय सविस्तार बुझाउने बुझ्ने जस्ता कार्यहरु पहिलो काम र कर्तब्य हो । यती बिषयहरुमा ध्यान दिदै कार्यहरु अगाडि बढाउन सकेमा हाल सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न कसैको मुख ताकिरहनु पर्दैन । अनि सबैका सामू सहकारी संस्थामा नेतृत्वकर्ताले चाहेमा जस्तोसुकै समस्या पनि सहजै समाधान गर्न सकिन्छ भन्ने सन्देश सबैलाई दिन सकिन्छ । अहिलेको अवस्थामा यहि हो सहकारीकर्मीहरुको पहिलो काम र जिम्मेवारी पनि हो भन्ने हामीले बुझ्नुपर्दछ ।
जय सहकारी
सहकारीकर्मीको पहिलो काम र जिम्मेवारी
