लायन्स क्लब अफ काठमाण्डौ लर्डबुद्ध र लियो क्लब अफ काठमाण्डौ लर्डबुद्धले बनेपा नगरपालिका वडा नम्बर ६ मा रहेको पवित्र धार्मिक तीर्थ स्थल गोसाईस्थानमा वृक्षारोपण गरेका छन् ।
आज बिहान जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक कुमार गौतम समेत सहभागि भएर वृक्षारोपण गरिएको हो । विभिन्न फलफूलका करिब २ सय वटा विरुवा रोपिएको लायन्स क्लब अफ काठमाण्डौ लर्डबुद्धका अध्यक्ष बदन भण्डारीले जानकारी दिनुभयो ।
जिसस प्रमुख गौतमले वृक्षारोपणका लागि लायन्स क्लब अफ काठमाण्डौ लर्डबुद्धलाई धन्यवाद दिँदै रोपिएका फलफूलका बोट विरुवालाई उचित हेरचाह गर्न गोइसास्थान संरक्षण समितिलाई आग्रह गर्नुभयो । ‘अहिले प्रकृति माथिको दोहन निकै बढेको छ । प्रकृतिलाई जोगाउन सक्दा मात्रै मानव जातिको हित हुन्छ । प्रकृति माथि भैरहेको दोहनलाई रोक्न नसक्ने हो भने मानव जाति संकटग्रष्ट अवस्थामा नपुग्लान भन्न सकिन्न । रोपिएका बोट विरुवाको विशेष हेरचाह गर्नु होला ।’ जिसस प्रमुख गौतमले भन्नुभयो ।
जिसस प्रमुख गौतमले नेपाल जस्तो प्राकृति रुपमा सुन्दर संसारमा अन्य देश नरहेको दाबी गर्नुभयो । ‘धेरै देश हेरौँ, घुम्यौ । तर नेपाल त्यस्तो देश हो जहाँ प्राकृति उपहार धेरै छन् । अन्य देशमा मानव निर्मित छन् । बोट विरुवा रोपेर बदलिँदो जलवायु परिवर्तनका असरलाई समेत अनुकुलन गर्न तर्फ हामी सबै लाग्नुपर्छ । हाम्रो सुन्दरता भनेकै वन जंगल, खोला नाला, पहाड, हिमाल, तराईका फाँट हुन् । यसलाई जोगाउँदा मात्रै नेपालीको शिर उच्च भैरहन्छ ।’ जिसस प्रमुख गौतमको भनाई छ ।
लायन्स क्लब अफ काठमाण्डौ लर्डबुद्धका अध्यक्ष भण्डारीले वातावरण जोगाउने अभियान अन्तर्गत वृक्षारोपण गरिएको बताउनुभयो । ‘हामीलाई स्वच्छ हावाका लागि पर्याप्त रुख, बोट विरुवा आवश्यक छ । वातावरण स्वच्छ भएन भने हामी स्वस्थ हुन सक्दैनौ । राम्रो वातावरण बनाउनु तपाई हामी सबैको दायित्व हो । लायन्स क्लब इन्टरनेश्नलले गर्ने विभिन्न कार्यक्रम मध्ये वृक्षारोपण गर्ने र वातावरण संरक्षणमा जनचेतना जोगाउने पनि एक हो । हामी सबैसंग सहकार्य गरेर वातावरण जोगाउने काम गर्दै आइरहेका छौँ । अध्यक्ष भण्डारीले भन्नुभयो ।
गोसाईस्थान संरक्षण समितिका अध्यक्ष भेषराज शाहले रोपिएका विरुवा जोगाउन समितिले रेखदेख गर्ने बताउनुभयो । ‘हामी गोसाईस्थानलाई थप ब्यवस्थित गर्ने काममा लागिरहेका छौँ । यो ठाउँलाई धार्मिक पर्यकीय क्षेत्र बनाउने हाम्रो उद्देश्य हो । यो क्षेत्रलाई वातारणीय रुपमा सुन्दर र हराभरा बनाउन हामीले प्रत्येक वर्ष वृक्षारोपण गर्दै आइरहेका छाैँ । त्यसैको निरन्तरता स्वरुप यो वर्ष लायन्स क्लब अफ काठमाण्डौ लर्डबुद्धको सहयोगमा विरुवा रोपिएको छ । त्यसको विशेष धन्यवाद ।’ अध्यक्ष शाहले भन्नुभयो ।
वृक्षारोपण कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ६ का जनप्रतिनिधि, गोसाईस्थान संरक्षण समितिका पदाधिकारी, लायन्स क्लब अफ काठमाण्डौ लर्डबुद्ध र लियो क्लब अफ काठमाण्डौ लर्डबुद्धमा आबद्ध लायन्सहरु तथा स्थानीय युवाहरु सहभागि हुनुभएको थियो ।