पनौतीमा एमाले उम्मेदवारको प्रतिवद्धताः तीन महिनाभित्र नगर अस्पताल सञ्चालन, किसानलाई पेन्सनको व्यवस्था गरिने

नेकपा एमाले पनौती नगरपालिकाका प्रमुख पदका उम्मेदवार भीम न्यौपानेले तीन महिनाभित्र विशेषज्ञ सेवा सहित नगर अस्पताल सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । पनौती बसपार्कमा आयोजित प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले पनौतीमा निर्माणाधिन २५ शैयाको नगर अस्पताल आवश्यक जनशक्ति, औषधि, यन्त्र, उपकरण, प्रयोगशाला तथा विशेषज्ञ सेवा सहित ३ महिनाभित्र सञ्चालनमा ल्याइने बताउनुभएको हो । सबै नगरवासीको स्वास्थ्य बिमा गरिने समेत उहाँले प्रचिवद्धता जनाउनुभएको छ । यसअघि नगरपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको थियो । ४० वर्ष नाघेका सबै नगरवासीको वर्षको एकपटक पुर्ण स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाउने नगरप्रमुखका उम्मेदवार न्यौपानेले बताउनुभएको छ । प्रतिवद्धता पत्रमा पर्याप्त स्थान र सुविधा सहितको बसपार्कको व्यवस्थापन पहिलो प्राथमिकतामा राखेर काम गर्ने उल्लेख छ । मानेश्वरी स्थित बसपार्कलाई प्रस्थान र आगमन तथा पनौती भ्रमणमा आउने पाहुनाहरुका लागि आवश्यक सुचना दिने केन्द्रको रुपमा विकास गर्ने योजना छ । वडाका प्रमुख केन्द्रसम्म पुग्नेगरी सडकहरुलाई कालोपत्रे वा ढलान गरी पक्की बनाउने, पुण्यमाता, रोशी, सुडीखोलाहरुको दायाँबाँया करिडोर निर्माण गर्ने पनि प्रतिवद्धतापत्रमा उल्लेख छ ।
प्रतिवद्धता पत्र सार्वजनिक गर्दै नगर प्रमुख पदका उम्मेदवार न्यौपानेले पनौती नगरपालिकालाई गुणस्तरिय शिक्षाको हवको रुपमा विकास गर्ने पनि बताउनुभएको छ । आधारभुत तहमा सम्भाव्यताको आधारमा मातृभाषामा शिक्षणको व्यवस्था मिलाउने भन्दै उहाँले नगरभित्रका सामुदायिक उच्च मावि र क्याम्पसहरुमा अध्ययन गर्ने सबै छात्राहरु एवं दलित, उत्पिडित र अत्यन्त न्युन आय भएका विद्यार्थीलाई निशुल्क अध्ययनको व्यवस्था मिलाइने बताउनुभयो ।

एक घर, एक धारा कार्यक्रमलाई निरन्तरता दिई आगामी ५ वर्षभित्र सबै घरमा शुद्ध पिउने पानीको धारा पुर्याउने उहाँको प्रतिवद्धता छ । मेरो शहर म सफा गर्छु अभियान सञ्चालन गरेर शहरलाई प्रदुषणमुक्त बनाउने न्यौपानेले बताउनुभयो । यसअघि आफ्नो कार्यकालमा कृषि क्षेत्रमा भएका कामलाई निरन्तरता दिई सबै किसान लाभान्वित हुनेगरी किसान पेन्सन योजना सञ्चालन गरिने पनि प्रतिवद्धता पत्रमा उल्लेख छ ।
नगर प्रमुख पदका उम्मेदवार न्यौपानेले पनौतीलाई विश्वसम्पदा सुचीमा सुचिकृत गर्न गरिएको पहललाई परिणामामुखी बनाउने समेत बताउनुभयो । सबै धर्म र संस्कृतिलाई पनौतीको धरोहरका रुपमा समान व्यवहार र श्रद्धा गर्र्दै पनौतीमा चलनचल्तीमा रहेका परम्परा, रीतिरिवाज, र संस्कृतिहरुको संरक्षणका लागि व्यवस्थित र दिर्घकालिन कार्ययोजना लागु गर्ने उहाँको भनाई छ । यस्तै उप प्रमु्ख पदका उम्मेदवार गीता बञ्जाराले सबै वडामा कम्तिमा एउटा बाल उद्यान र सबै टोलहरुमा बालबालिकाहरुका लागि एक खेल मैदान बनाइने बताउनुभएको छ । यस्तै सबै जेष्ठ नागरिकलाई वर्षमा एकपटक तिर्थाटको व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।

बिज्ञापन

रोजगारी सिर्जनागर्नका लागि स्थानीय स्तरमा उत्पादित वस्तुहरुबाट हुने लघु उद्योग स्थापनालाई प्रोत्साहित गर्दै उद्योग स्थापनाका लागि अनुदान र उद्योग दर्ता प्रमाणपत्रको आधारमा सहुलियत ऋणको व्यवस्था मिलाइने प्रतिवद्धता पत्रमा जनाइएको छ । वार्षिक रुपमा वृक्षारोपण सप्ताह घोषणा गर्ने र प्रत्येक वर्ष स्थानीय वातावरण अनुकुल १० हजार विरुवा रोप्ने योजना छ । सामुदायिक वनभित्र फलफुल, जडिबुटी लगायतका विरुवाहरु वृक्षारोपाण गरि आयआर्जनसँग जोड्ने नीति लिइने उल्लेख छ । संवेदनशिल स्थानमा सि.सि क्यामेरा मार्फत सुरक्षा निगरानी गर्ने व्यवस्था मिलाइने व्यवस्था गरिनेछ । प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा नेकपा एमाले वागमती प्रदेश कमिटी उपाध्यक्ष रामहरी सुवेदी, एमाले काभ्रेका सह–सचिव राजकुमार सापकोटा, पनौती नगर अध्यक्ष सुरेश हुमागाँई, सचिव सन्तोष केसी लगायतको उपस्थिती रहेको थियो ।