काभ्रे – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु
तेमाल गाउँपालिका कमिटीले विभिन्न ५ बुँदे माग राख्दै तेमाल गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियु तेमालले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकाललाई ज्ञापन पत्र बुझाएको हो ।
अनेरास्ववियुले विद्यार्थीलाई कोरोना विरुद्धको खोप तत्काल व्यवस्था गर्न देखि सार्वजनिक यातायातमा वृद्धवृद्वाहरुलाई ज्येष्ठ नागरिक कार्ड छुटको व्यवस्था गर्न अनुरोध गरेको छ ।
यी हुन अनेरास्ववियु तेमाल गाउँपालिकाले राखेको ५ बुँदे मागहरु:
१. विद्यार्थीहरुलाई चाँडो भन्दा चाँडो कोभिड-१९ (कोरोना भाइरस) को खोप व्यवस्था गर्नुपर्ने ।
२. विद्यार्थी आन्दोलनबाट प्राप्त सार्वजनिक सवारी साधनमा ४५% छुटको ब्यवस्था तेमालको बाटोमा गुड्ने सार्बजनिक यातायातको सवारी साधनमा पुर्णरूपमा लागू गर्नुपर्ने साथै कतिपयले खुद्रा पैसा छैन भन्दै बढी भाडा असुलिरहेको हुँदा यसको प्रभावकारी अनुगमन गरि तत्काल नियन्त्रण गर्नुपर्ने ।
३. तेमाल गाउँपालिकाभित्र रहेको दसवटा मा. वि. तहको विद्यालयहरुमा अध्यनरत विद्यार्थी (छात्रा) हरुको लागि गुणस्तरीय सेनेटरी प्याड नि:शुल्क व्यवस्था गर्नुपर्ने ।
४. विद्यार्थीहरुको बौद्धिक क्षमता अभिवृद्धि, शैक्षिकस्तरको उन्नति एवम् सर्वाङ्गिण क्षमता विकासको लागि सबै विद्यालयमा पुस्तकालयको स्थापना गर्नुपर्ने ।
५. सार्बजनिक यातायातमा वृद्ध आमा बुबाको वृद्ध कार्ड छुटको ब्यवस्था हुनुपर्ने ।
आफ्नो मागहरु तत्काल सम्बोधन नभए थप प्रभावकारी आन्दोलन गर्ने अनेरास्ववियु तेमाल गाउँपालीकाको अध्यक्ष दुदराज लामाले बताए ।