भकुण्डेबेशी– नमोबुद्ध नगरपालिकाले एक बर्षको अवधीमा ५ सय २ वटा योजना र कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक बर्ष २०७७/७८ मा तय भएका ५ सय ९९ वटा योजना र कार्यक्रममध्ये ८३ दशमलव ८० अर्थात ५०२ वटा योजना र कार्यक्रम सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ ।
बिहीबार गत आर्थिक बर्ष २०७७/७८ को बार्षिक समीक्षा गर्दै नगरपालिकाले उक्त आर्थिक बर्षमा भए गरेका कामको विवरण सार्वजनिक गरेको छ ।
कार्यक्रममा एक बर्षमा भएका कामको विवरण सार्वजनिक गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले गत आर्थिक बर्षमा ७४ करोड ३१ लाख २८ हजार २ सय ७० रुपैयाँ विनियोजित बजेटमध्ये ८४ दशमलव ६९ प्रतिशत अर्थात ६२ करोड ९४ लाख १४ हजार ८ सय ७२ रुपैयाँ खर्च भएको जानकारी दिए । जसमध्ये चालुतर्फ ४० करोड ७९ लाख १४ हजार ४ सय ३ रुपैयाँ विनियोजन गरिएकोमा ३६ करोड १२ लाख ८३ हजार ९ सय ४ रुपैयाँ खर्च भएको छ । यो चालुतर्फको कुल बजेटको ८८ दशमलव ५६ प्रतिशत हो । यस्तै पूँजीगततर्फ ३३ करोड ५२ लाख १३ हजार ८ सय ६७ रुपैयाँ बजेट विनियोजन भएकोमा ८० दशमलव ०८ प्रतिशत अर्थात २६ करोड ८४ लाख ५१ हजार ९ सय ६७ रुपैयाँ खर्च भएको पौडेलले जानकारी दिएका छन् । कोभिड १९ महामारी, संघ तथा प्रदेशबाट प्राप्त योजना अघि बढ्न नसक्नु लगायतका कारण योजना सञ्चालनमा कठिनाई भएका कारण सबै बजेट खर्च हुन नसकेको पौडेलले बताए ।
वडागतरुपमा २ सय ७० वटा योजनामध्ये ८२ दशमलव ९६ प्रतिशत अर्थात २ सय २४ वटा योजना सम्पन्न भएका छन् । नमोबुद्ध नगरपालिकाका ११ वटा मध्ये वडा नं. ४ ले शतप्रतिशत योजना सम्पन्न गरेको छ । उक्त वडामा २४ वटा योजनामा बजेट विनियोजन भएकामा सबै योजना सम्पन्न भएका हुन् ।
नगरपालिकाले ६ करोड रुपैयाँ राजस्व संकलनको अनुमान गरेकोमा ४ करोड १४ लाख २६ हजार ४ सय ८८ रुपैयाँ राजस्व संकलन गरेको छ । कोभिड १९ का कारण कचिपय क्षेत्रमा राजस्व छुट दिनुपरेको लगायतका कारण अनुमान भन्दा कम राजस्व संकलन भएको प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जानकारी दिए ।
गत आर्थिक बर्षमा नमोबुद्ध नगरपालिकाको न्यायिक समितिमा १३ वटा उजुरी परेकोमा ९ वटाको फैसला भएको छ भने ५ वटामा मिलापत्र भएको छ । यस्तै हालसम्म ६८ वटा कानुन निर्माण भएको जानकारी कार्यक्रममा दिइएको छ ।
नगरपालिकाले गत आर्थिक बर्षको उपलव्धीको रुपमा कोभिड १९ रोकथाम र नियन्त्रणमा महत्वपूर्ण सफलता हासिल गर्नुलाई लिएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणको क्रममा आइसोलेसन स्थापना गरी १ सय ७८ जनाको उपचार गरिएको थियो भने एक बर्षमा ७ सय १३ जनाको स्वाब संकलन गरी पठाइएको र ९ सय २० जनाको एन्टिजेन परिक्षण गरिएको थियो । यस्तै गत आर्थिक बर्षमै मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पताल बनाइएको, दाप्चा स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा स्तरोन्नति गरिएको, सबै स्वास्थ् संस्थाबाट क्षयरोगको उपचार र औलोको परिक्षण सुरु गरिएको, महिलाका लागि सीप विकास तालिम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । यस्तै गत आर्थिक बर्षमै ४ हजार मिटर पक्की ड्रेन निर्माण गरिएको, ४ वटा कल्भर्ट निर्माण गरिएको७ हजार मिटर ग्रावेल गरिएको छ भने ६ सय मिटर सडक कालोपत्रे गरिएको छ ।
नगरपालिकाको बार्षिक समीक्षा कार्यक्रममा संवोधन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले आफूहरु कार्यकालको अन्तिम बर्षमा आइपुगेको र जनताको अपेक्षाअनुसार धेरै हदसम्म पूर्वाधारको विकास र चेतनाको विकासका काम गरेको बताए । आफूहरुको कामको समीक्षा नगरबासीबाटै हुने भन्दै उनले नगरको विकासको जग बसालिएको र आगामी दिनमा यसले समृद्ध नगरको निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले नगरपालिकाले ५ बर्षे, १० बर्षे, १५ बर्षे रणनीतिक योजना निर्माण गर्दै समृद्ध नगरको अभियानलाई अघि बढाइरहेको बताए । यस्तै उपप्रमुख रामदेवी तामाङले भौतिक पूर्वाधारको विकासलाई विशेष जोड दिँदै वडा कार्यालय, स्वास्थ्य संस्था, सडक, खानेपानी आयोजनाका काम तीब्ररुपमा गरिरहेको बताइन् ।
कार्यक्रममा वडा नं. ४ का अध्यक्ष उद्धवप्रसाद काफ्ले नेकपा एमाले नमोबुद्ध नगर कमिटीका अध्यक्ष कृष्ण खनाल, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष पुस्कर तिमल्सिना, नेकपा माओवादी केन्द्रका नगर उपाध्यक्ष नवराज अधिकारीले नगरपालिकाले गरेका कामका विषयमा आफ्ना धारणा र सुझाव पेश गरेका थिए । कार्यक्रम प्रशासकीय अधिकृत विनोद रसाइलीले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.