काभ्रेपलान्चोक – धुलिखेल नगरपालिकाको न्यायिक समितिद्वारा “न्यायिक समितिको अधिकार अभ्यास र अनुभब “नामक पुस्तक बिमोचन कार्यक्रम धुलिखेल नगरपालिकाको नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष कुमार व्यान्जुको प्रमुख आतिथ्यमा सम्पन्न भयो । नेपालको संविधान अनुसार स्थानीय तहमा गठित न्यायिक समितिहरूलाई प्राप्त अधिकार, अभ्यास र अनुभवका बारेमा पहिलो पटक धुलिखेल नगरपालिकामा गठित न्यायिक समितिले पुस्तक प्रकाशन गरी विमोचन गरेको छ ।

‘न्यायिक समितिले गरेका अभ्यास तथा अनुभव समेटेर प्रकाशन गरेको पुस्तकले न्यायिक परिपक्वता देखाएको छ’–नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘न्यायिक समितिका निर्णय प्रक्रिया, कार्यविधि र कार्यान्वयन सहित भएकाले जनविश्वास बढेको छ ।’ न्यायिक समितिमा अध्ययन र सिपको आवश्यकता रहेको बताउँदै प्रमुख अतिथि नगर प्रमुख ब्याञ्जुले स्वतन्त्र रूपमा न्याय सम्पादन गर्नु पर्ने बताउनु भयो ।

‘न्याय नपाए गोर्खा जानु भन्ने उखान जस्तै राम्रो काम हेर्न धुलिखेल जाऊ भन्ने अभियानका रूपमा धुलिखेलले हरेक कार्यमा उत्कृष्टता हासिल गरेको छ’– नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘न्यायिक समितिले प्रकाशन गरेको पुस्तक न्यायिक समितिका लागि नमुना र अनुकरणीय रहनेछ ।’

प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईले पुस्तकमा समेटिएका सामाग्रीका कारण ओजनिय बनेको बताउनु भयो । ‘न्याय गरेर मात्रै हुँदैन, न्याय गरेको देखिनु पर्छ’–न्यायाधीश भट्टराईले भन्नुभयो–‘न्यायिक समितिमा रहेर गरिने न्यायले आफू पदमा नरहँदा पनि सही भएको महसुस भई रहनु पर्छ । गरिएका निर्णय कार्यान्वयन गर्नु , सही प्रमाण र तथ्याङ्क संकलन गरी निर्णय गर्नु जरुरी छ ।’ धुलिखेल नगरपालिकाको न्यायिक समितिले आफूले गरेका कार्यहरूको संग्रह प्रकाशन गरी न्यायमा थप इट्टा थपेको न्यायाधीश भट्टराईले बताउनु भयो ।
धुलिखेल नगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक विमला शर्माले न्यायिक समितिले गरेका नमुना कार्यहरूको अनुभव अन्य प्रदेशमा पनि उपलब्ध गराउन पाएको बताउँदै चार वर्षको अवधिमा भएका अभ्यास र अनुभवलाई पुस्तकका रूपमा संग्रह गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो ।
न्याय चाहनेहरूका लागि उक्त पुस्तक सहयोगी बन्न सक्ने उहाँले बताउनु भयो । पनौती नगरपालिका उपप्रमुख गीता बञ्जाराले धुलिखेलको न्यायिक समितिले गरेका गतिविधि अन्य न्यायिक समितिका लागि अनुकरणीय रहेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले घरदैलोमा नागरिकहरूले प्राप्त गर्ने न्यायको अभ्यासलाई न्यायिक समितिले पुरा गरेको बताउनु भयो । हरेक नागरिकहरूको न्याय प्राप्त गर्ने हकलाई केही हदसम्म न्यायिक समितिको माध्यमबाट पुरा भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो ।
न्यायिक समितिहरू सक्षम बनाइँदा न्याय प्राप्त गर्ने नागरिकहरूलाई सहज हुने उहाँले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी भुपेन्द्र खत्रीले न्यायिक समितिका कार्यले प्रहरीलाई अपराध नियन्त्रण र अनुसन्धानको कार्यमा सहज भएको बताउनु भयो । छिटो र छरितो न्यायका लागि न्यायिक समितिले गरेका कार्यहरू महत्त्वपूर्ण रहेको उहाँले बताउनु भयो । जिल्ला न्यायाधिवक्ता चन्द्रकुमार पोखरेलले न्यायका उपभोक्ताहरुका लागि पुस्तक असल सामाग्री भएको बताउनु भयो ।
न्याय बचाउनका लागि वा न्याय प्राप्तिका लागि न्यायिक समितिले खेलेको भूमिका र समेटिएका सामाग्रीहरू महत्त्वपूर्ण हुने बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले नागरिकहरूलाई सहज र सरल न्याय उपलब्ध गराउन न्यायिक समितिहरू सक्षम रहेको बताउनु भयो ।

अध्ययन र अनुभवसँगै सिपको विकासले न्यायिक समितिहरूले विश्वास जित्दै गएको उहाँले बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेल, अदालतका श्रेस्तेदार गोविन्दप्रसाद घिमिरे, उजुरी प्रशासक सरोज थापा, न्यायिक समितिका सदस्यहरू मोहनप्रसाद लामिछाने र गणेश आचार्य, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, जनप्रतिनिधिहरू एवं कर्मचारीहरूको सहभागिता रहेको थियो ।
प्रकाशन भएको पुस्तकमा न्यायिक समितिले चार वर्षमा गरेका गतिविधिहरू, न्यायको प्रक्रिया र अभ्यास तथा अनुभवहरू समेटिएका छन् । न्यायिक समितिको निर्णय उपर चित्त नबुझेर अदालत पुगेका पक्षहरूको हकमा पनि अदालतले न्यायिक समितिकै निर्णयलाई सदर गरिदिएको छ । मेलमिलापको माध्यमबाट न्यायिक समितिले कार्य गरिरहेको संयोजक विमला शर्माले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..